काठमाडौ । दल त्याग गर्दा सांसद पद गुमाएका माओवादी केन्द्रका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका कैलाली ४ का लेखराज भट्ट, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह र कैलाली ३ का गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा पुननियुक्तिको सिफारिस गरेपछि उनीहरु मन्त्री बन्ने पक्का भएको हो ।
राष्ट्रपति विद्या भण्डारीले पुनर्नियुक्त मन्त्रीहरुलाई साँझ शपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उनीहरुले पहिलेकै मन्त्रालयको जिम्मेवारी पाउने छन् । जसअनुसार लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई, प्रभु साह सहरी विकास र गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको पुनर्नियुक्ति पाउने छन् ।
माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका चारैजना मन्त्री हुन् । नेकपा माओवादी केन्द्रले चारैजनालाई दलको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । सोही सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको संसद् बैठकमा जानकारी गरापछि उनीहरुको सांसद पद खारेज भएको हो । सांसद पद गएसँगै उनीहरुको मन्त्री पदसमेत गुमेको हो ।
पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न सक्ने छ ।






