मोरङ । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताएका छन् । नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा शुक्रवार विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेला पार्टी एवम् पुनर्गठन कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्वले आफूखुसी कमिटी गठन, बैठक र विस्तार गर्ने गरेकाले यसलाई सच्याउनुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री नेपालले नेतृत्वका कारण कार्यकर्ताको मनोबल खस्केको आरोप लगाउँदै कम्युनिस्ट आन्दोलन जोगाउन पार्टी जिल्ला अभियानको दौडाहामा लागेको जानकारी दिए । उनले पार्टीका ६५ जिल्लामा कमिटी पुनर्गठन भइसकेको जानकारी दिँदै चाँडै ३२ भ्रातृ सङ्गठनको राष्ट्रिय भेलाको आयोजना गरी नागरिकको पार्टीप्रतिको आशा एवम् विश्वास जगाउने कार्य भइरहेको बताए ।
कार्यक्रममा युवा नेताहरू जगन्नाथ खतिवडा, जीवन घिमिरे, धनेन्द्र बस्नेत, डाक्टर देउमान सम्वाहाम्फे र महेश रेग्मीलगायतले पार्टी विधि, विधान र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । त्यही कार्यक्रममा नेता नेपालले चन्द्रवीर राईको अध्यक्षतामा तीन सय २५ सदस्यीय मोरङ जिल्ला कमिटी र पारुल क्षेत्रको अध्यक्षमा एक सय ७५ सदस्यीय विराटनगर महानगर कमिटी पुनर्गठन समेत गरेका छन् ।






