काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी उपाध्यक्ष डा. भीम रावलले नेपाली नागरिकले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने बेला आएको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूह सम्बद्ध विद्यार्थीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरूलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् ।
उनले स्पष्टीकरण आफूहरूले नभइ पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताए । प्रतिनिधि सभा विघटन गर्ने, एमसीसीजस्ता वितण्डाहरू अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधि सभामा पारित हुन नदिने जस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली नागरिकले स्पष्टीकरण सोध्नुपर्ने रावलको भनाइ छ । त्यसको जवाफ ओलीले दिनुपर्ने उनले बताए ।
उनले भने, ‘नेपाली नागरिकले केपी शर्मा ओलीलाई तपाईँले प्रतिनिधि सभा विघटन किन गर्नुभयो ?, आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो रु, तपाईँले पहिल्यै असमान सन्धि सम्झौताहरू र एमसीसी जस्ता अनेकौँ वितण्डाहरू अगाडि किन सार्नुभयो ? तपाईँले नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट किन पारित गर्न दिनुभएन ?
तपाईँले नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरीतका काम किन गर्नुभयो ? नागरिकको जनादेशलाई तपाईँले किन विखण्डित गर्नुभयो ? भनेर तपाईँ हामी नेपाली नागरिकले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ, केपी शर्मा ओलीले जवाफ दिनुपर्छ ।’
उपाध्यक्ष रावलले नवौँ महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो भन्दै प्रश्नसमेत गरेका छन् । अहिलेसम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिहरूलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको उनले बताए ।
उनले भने, ‘पार्टी विधान विपरीत नवौँ राष्ट्रिय महाधिवेशनको फैसला विपरीत निर्णय गर्ने व्यक्तिले हामीलाई तपाईँहरूले अनुशासन मान्नुभएन, तपाईँहरू केन्द्रीय कमिटीमा आउनुभएन अनि तपाईँलाई स्पष्टीकरण सोध्नु भन्दाखेरी अलिकति लाज मान्नुपर्ने हो । हामी केपी शर्मा ओलीको फागुन २८ गते बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय हामी मान्दैनौँ ।’






