काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी मङ्गलवार दिउँसो स्वदेश फिर्ता भएकी छन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकामा रहेको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेश मन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायतले बिदाई गरेका थिए ।
भ्रमणका क्रममा दुबै देशका राष्ट्राध्यक्षले विभिन्न चार विषयमा समझदारी गर्नुभएको छ । जसमा पर्यटन सहयोग, सरसफाइ, सांस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी समझदारी भएका छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवम् फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको बताए ।
यस्तै ऊर्जा व्यापारका लागि द्विपक्षीय सहकार्यलाई अघि बढाउने, द्विपक्षीय व्यापारको प्रवर्द्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बङ्गलादेशले नेपाललाई सरल एवम् सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटनलगायतका क्षेत्रको विकासका लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्ने विषयमा छलफल भएको ज्ञवाली बताए ।
नेपालको जलविद्युत् बङ्गलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापार वृद्धि एवम् सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेल सेवा तथा सडक मार्गको सुधार एवम् अन्तर्देशीय जल मार्गको सञ्चालन जस्ता सम्पर्क सञ्जालहरूको विकास गर्ने लगायतका विषयमा समेत छलफल भएको उनले बताए । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमवार त्यसतर्फ प्रस्थान गरेकी थिईन् ।






