काठमाण्डौ ।नेपाल कम्युनिस्ट पार्टी एमालेको एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्रीसंगको कुराकानीमा आफ्ना शर्तहरु प्रष्ट रुपमा प्रधानमन्त्री सामू राखेका छन् । संयोजक गौतमले पहिलो शर्तको रुपमा वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी एमालेको एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको बताएका छन् । साथै नेता गौतमले माधव नेपालको समूहलाई सम्मान गर्नकोलागी पनि आफुले आग्रह गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तर्विरोध समाधान गराउन भूमिका खेल्नुपर्ने पनि उनको भनाइ छ । नेता गौतमले भने,‘अब तपाईँको नेतृत्वको सरकार अनि त्यसको समर्थनमा वामपन्थीहरू नआउने सरकार त्यसरी नचलाउनुस् । हामी फेरि पनि वामपन्थी सरकार दिन चाहान्छौँ भनेर आह्वान गर्नुस् ।
म नेपालका सबै कम्युनिस्ट पार्टीलाई हामीसँग वार्तामा आउन आग्रह गर्छु । सँगै बसौँ र देशलाई अगाडि बढाउनका लागि हातेमालो गरौँ भन्नुस् र वामपन्थी सरकार बनाउने हो भने त्यसको फेरि पनि मुख्य शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुनेछन् र तपाईँले प्रचण्डलाई बोलाएर तुरुन्तै अनुरोध गर्नुस् भनेर अध्यक्ष ओलीलाई भनेँ ।’
नेता गौतमले नयाँ शिराबाट अगाडि बढ्न आग्रह गरिएको भन्दै भने,‘आज अगाडि गरिएका हाम्रा उचित, अनुचित व्यवहारहरू, राम्रा व्यवहारहरू कायम राखे पनि हुन्छ । शिक्षा लिए पनि हुन्छ । नराम्रा अनुचित जति व्यवहारहरू भए ती सबै एउटा बेरियर, त्यसलाई कायम गरौँ । बटमलाइन एउटा निश्चित गरौँ, त्योभन्दा अगाडिका विषयलाई आज हामी नउठाऔं । अगाडि बढाऔँ भनेर त्यहाँ कुरा गर्नुस् ।
एमालेभित्रै अहिले समस्या देखियो । मुख्य व्यक्तिहरूलाई बोलाएर तपाईँले अनुरोध गर्नुस् । अत्यन्त सम्मानपूर्ण व्यवहार गर्नुस् र हामी फेरि एकताबद्ध भएर जान्छौँ । हामीले गर्नुपर्ने काम धेरै छन् र त्यो राष्ट्रिय जिम्मेवारी नेकपा एमालेको हो । त्यो एमालेको जिम्मेवारी हामीले एकताबद्ध गरेर मात्रै पूरा गर्न सक्छौँ त्यही भएर तपाईँले यो आह्वान गर्नुस्, सुरु गर्नुस् भनेर प्रधानमन्त्रीलाई मैले अनुरोध गरेँ ।’
संयोजक गौतमले माधव नेपाल समूहले छुट्टै गतिविधि सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्नका लागि प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधान विपरीत निर्णय फिर्ता गर्नुपर्ने बताए । नेपालका सबै कम्युनिस्ट पार्टीलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफू अगाडि बढेको गौतमको भनाई छ ।






