काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पुरै वार्ता सकारात्मक र सान्दर्भिक भई रहंदा छुट्टिने बेलामा भने प्रधानमन्त्री ओलीले टर्रो कुरा गरेर वार्ता निष्कविहीन बनाएको बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच एकताको प्रकृयामा कसरी अगाडी बढ्ने र पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा वार्ता भएको थियो । जुन वार्ता निष्कर्षविहीन भएको नेता नेपालले बताएका छन् ।
पार्टी कार्यालय धुमबाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दै अघि बढाउने प्रतिवद्धता जनाएपनि आ–आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पूर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरूको प्रभाव शून्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो ।
सो प्रस्तावअनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताहरुले दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको प्रतिक्रिया दिए । उनले भने– ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा ओली जीले टर्रो कुरा गर्नुभयो ।’
यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पूर्व एमालेको जुन पुरानो अवस्था हो, यो अवस्थामा पार्टीको संरचना, पदाधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकताबद्ध बनाउँ, आन्दोलनलाई पनि अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौं भन्यौ । अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन ।”






