काठमाडौ । नेकपा एमालेमै प्रधानमन्त्री ओली र नेपाल खनाल समूहले आ आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरुको बैठक बोलाई रहंदा उपाध्यक्ष बामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । उनले मंगलबार ११ बजे बैठक बोलाएका हुन् । गौतम निकट नेता बाबुराम थापाका अनुसार कार्यसम्पादन समितिको बैठक बल्खुको एक पार्टी प्यालेसमा बोलाइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बसेको बैठकले नेपाल खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओबादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए । सोही बैठकले उपाध्यक्ष गौतमको पनि जिम्मेवारी खोसेको छ । उनले त्यही विषयमा छलफल गर्न बैठक बोलाएको थापाले जानकारी दिए ।
नेकपाको एकता भंग हुनुअघि एकता अभियान चलाइरहेका गौतमले सर्वोच्च अदालतले एकता भंग गरेपछि पनि एमालेभित्रको एकता गराउने भन्दै लागिपरेका छन् । उनले अध्यक्ष ओलीको कदमको विरोध गरेका छन् । यस विषयमा उपाध्यक्ष गौतमले विज्ञप्ति समेत निकालेका थिए । ओली समूहले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।






