काठमाण्डौ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णय कार्यान्वयन नगराउन माग गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष निर्वाचन आयोग पुगेको छ । नेपाल समूहले अध्यक्ष ओलीले पार्टी एकलौटी रुपमा मनोनयन लगायतका निर्णय अनाधिकृत भएको भन्दै आइतबार आयोगमा निवेदन दिएको हो ।
उक्त निवेदनमा बरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनाल, पार्टी उपाध्यक्ष तीन जना, उपमहासचिव, केन्द्रिय सचिव लगायतले हस्ताक्षर गरेका छन् । तर ओली प्रवृतिकै विरोध गरेका उपाध्यक्ष बामदेव गौतमले भने नेपाल समूहले तयार पारेको कुनैपनि निवेदनमा हस्ताक्षर गरेका छैनन् । नेपाल समूहका ११ जना स्थायी समिति सदस्यको हस्ताक्षरसहित सो प्रक्रिया रोक्न माग गरेकानिवेदनमा गौतमको नाम र हस्ताक्षर दुबै छैन ।
शुक्रबार अध्यक्ष ओलीनिकट केन्द्रीय सदस्यहरुको भेलाले पार्टी केन्द्रीय कमिटीमा सदस्य थप गर्ने, ७० वर्षे प्रवाधन हटाउने गरी विधान संशोधन गरेको थियो । निर्वाचन आयोगलाई नेपाल समूहले लेखेको पत्रमा पार्टीको विधानको धारा १३ र १३ क बमोजिम पार्टी विधानको संशोधन केवल राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने उल्लेख छ ।








