काठमाण्डौ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले माधवकुमार नेपाल प्रचण्डको दूत भएको आरोप लगाएका छन् । उनी प्रचण्डको दूत बनेर एमालेमा आएको हुनाले माधव नेपालको बिश्वास गर्न नहुने बस्नेतको दाबी छ । यद्यपी उनले बाबु मानेका प्रधानमन्त्री ओलीले भने नेपाल समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् । ओलीले मंगलबारको चियापान कार्यक्रममा समेत नेपाल समूहलाई निम्तो दिएका छन् ।
पछिल्लो समय आफूलाई एमाले दाबी गरेपनि उनी प्रचण्डको मिशन लागू गर्न एमालेमा आउन खोजेको बस्नेतले बताए । उनले राष्ट्रिय युवा संघ जिल्ला कमिटी सुनसरीको शपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलामा बोल्दै यस्तो कुरा बताएका हुन् । बस्नेतले माधव नेपाल प्रचण्डको मिसन पूरा गर्न एमालेमा आएकाले सजिलै विश्वास गर्न नसकिने बताएका छन् ।
प्रचण्डले बुटवलमा ‘माधवजीले कि पार्टी एमाले क ब्जा गर्नुहुन्छ, कि धेरै सदस्य लिएर यतै आउनुहुन्छ’ भन्दा पनि खण्डन नगर्नुले माधव नेपालको नियतमाथि झन् शंका थपिएको उनको भनाइ छ । उनले माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटीलाई सहजै ‘फेस गर्ने’ पनि बताएका छन् । ‘प्रचण्ड र माधव नेपालले संयुक्त रुपमा बनाएको समानान्तर कमिटी त सामना गरियो । माधव नेपाल पक्षले मात्रै बनाएको कमिटी सामना त के समस्या भयो र ?’ बस्नेतले भने ।






