काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । आइतबार पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाहरूलाई मन्त्री पद त्याग गरी सरकारबाट फिर्ता हुन केन्द्रीय कार्यालय बैठकले गरेको निर्णयलाई नै सदर गर्दै फिर्ता हुन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले नेकपा माओवादी केन्द्र छाडेका नेताहरूलाई पार्टी परित्याग गरेको होरहोइन स्पष्टीकरण दिन पनि भनेको छ । प्रवक्ता श्रेष्ठले भने,‘हिजो हाम्रो पार्टीको केन्द्रीय कार्यालयले प्रस्ताव गरेअनुसार आजको केन्द्रीय कमिटीको बैठकले हाम्रो पार्टीको तर्फबाट अहिलेसम्म पनि मन्त्री पदमै रहनुभएका कमरेडहरूलाई मन्त्री पद त्याग गरेर सरकारबाट फिर्ता हुने कुरालाई केन्द्रीय कमिटीले पनि औपचारिक रूपमा निर्णय गरेको छ ।
त्यसैगरी हिजैको केन्द्रीय कार्यालयको प्रस्तावअनुसार हाम्रो पार्टीका कतिपय केन्द्रीय कमिटी र विभिन्न कमिटीका सदस्यहरू अर्को पार्टीमा रहनुभएको सार्वजनिक रूपमा सूचना प्राप्त भएको छ । त्यस आधारमा हाम्रो माओवादी केन्द्र परित्याग गरेको होरहोइन र आफ्नो पार्टी कुन हो सुसूचित गर्नका लागि र आफ्नो स्थिति स्पष्ट गर्नका लागि स्पष्टीकरण माग्ने कार्यालयको प्रस्तावलाई पनि आजको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’
बैठकमा अध्यक्ष दाहालले वर्तमान राजनीतिक परिस्थिति र आउँदा दिनको कार्यभारको सम्बन्धमा रिर्पोटिङ गरेका थिए । बैठकमा पार्टी सङ्गठनको अवस्थाको सम्बन्धमा १ नम्बर प्रदेशबाट सहइन्चार्ज मायाप्रसाद काफ्ले, २ नम्बरबाट सहइन्चार्ज विश्वनाथ शाह, वाग्मती प्रदेशबाट अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशबाट अध्यक्ष हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट अध्यक्ष ओनसरी घर्ती मगर,
कर्णाली प्रदेशबाट सचिव मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट सचिव नेपबहादुर चौधरीले रिपोर्टिङ गर्नुभएको थियो भने उपत्यका विशेष कमिटीको तर्फबाट इन्चार्ज लीलामणि पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटीको तर्फबाट अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटीको तर्फबाट अध्यक्ष युवराज चौलागाईँले रिर्पोटिङ गर्नुभएको प्रवक्ता श्रेष्ठले बताए । केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे फेरि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।






