काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्ने सम्भावना समाप्त भएको प्रतिक्रिया दिएका छन् । ओलीले शुक्रबार एकलौटी रुपमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेपछि गौतमले एकता समाप्त भएको प्रतिकृया दिएका हुन् ।
नेता गौतमले केपी ओलीले एकताकोलागी पहल कदमी चाल्नुको साटो प्रधानमन्त्रीको शक्ति र पदको चरम दुरुपयोग गर्ने योजना बनाएको भन्दै उनीसंग अब एकता हुनै नसक्ने बताए । उनले भने,‘मैले जे पनि गर्नसक्छु, मैले जे गर्छु त्यही सिद्धान्त हुन्छ, जे गर्छु त्यही संविधान बन्छ र जसो गर्छु त्यही कानुन बन्छ भन्ने उहाँलाई परेको छ ।’
नेता गौतमले अब केपी ओलीसित कम्युनिस्ट पार्टीको सिद्धान्त नरहेको बताउँदै ओलीले जनताको बहुदलीय जनवादलाई समेत लत्याएको बताए । गौतमले भने,‘केपी ओलीसित कम्युनिस्ट पार्टीको सिद्धान्त पनि रहेन । नीति पनि रहेन । जनताको बहुदलीय जनवादको त नाम पनि रहेन । जबज त देखाउनको निम्ती मात्रै रहेछ ।’
नेता गौतमको भनाई अुनसार ओलीले पार्टीको सत्ता क ब्जा गरेको नभएर केवल उनको गुटको सत्ता बनेको बताए । गौतमले भने,‘पार्टी सत्ता त के को कब्जा गर्ने हो ? उहाँको गुटमा आँखा चिम्लेर लाग्ने जति छन् ती केपीतिरै लाग्छन् । हाम्रो पार्टीको सत्ता कब्जा हुनै सक्दैन ।’ ओलीले कम्युनिस्ट आन्दोलनको बाटो बिर्सिएर अन्तै लागिसकेको पनि आरोप लगाए । एमाले र माओवादी सम्मिलित नेकपामा विभाजन उत्पन्न भएयता गौतमले एकताका लागि जोड दिँदै आएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको एमालेको केन्द्रीय कमिटी बैठकले माओवादी छोडेका नेताहरूलाई एमालेमा समाहित गर्ने तथा जिम्मेवारी दिने निर्णयका साथै माधवकुमार नेपाल पक्षमा रहेका निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गरेको हो ।






