काठमाण्डौ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ ।
एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको शुक्रवार साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले बताए । नेता रावलले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति समेत जनाए ।
बैठकपछि नेता रावलले भने,‘एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौं ।’ यो बैठकले शनिबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक र चैत पहिलो हप्ता राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेको थियो । यसका साथै शुक्रबार नै पार्टीमा अध्यक्ष र महासचिवबाहेक सबैको पद खारेज गरेको निर्णय समेत गरेको छ ।






