काठमाडौ । नेकपा एमालेका नेता माधव कुमार नेपालले प्रधानमन्त्री ओलीले आफुहरुलाई राजनीतिबाट पाखा लगाउनै खोजेकोभन्दै त्यसको प्रतिबाद गर्ने बताए । नेता नेपालले भने,‘ओलीले हामीलाई सिध्याउनै खोजे, हामी त्यसको प्रतिवाद गर्छौं र ओलीले देख्नेछन् प्रतिबादको रुप ।’ अध्यक्ष केपी ओलीले आफ्ना पक्षका केन्द्रिय सदस्य सहितको बैठक बोलाएर अध्यक्ष र महासचिव सहित सबै पद खारेज गरेपछि माधव कुमार नेपालले त्यसको प्रतिबाद गर्ने बताएका छन् ।
ओलीको यस्तो कदमको माधव पक्षका नेताहरुले विरोध गरेका छन् । तत्कालिन प्रतिकृया दिँदै नेता अमृतकुमार बोहोराले एमालेको केन्द्रीय कमिटी विस्तारलगायतका निर्णयप्रति आपत्ति जनाएका छन् । ओलीले चालेको यो कदमलाई घोर षडयन्त्र भन्दै त्यसको सशक्त प्रतिकार गरिने उनले बताए । ‘ओलीले पार्टी मिलाउनु त कता हो कता, निहुँ खोज्ने काम गरे । हामी त्यसको सामनासँगै प्रतिकार गर्छौं’ उनले भने ।
‘सर्वोच्च अदालतको फैसलापछि एमाले एक हुने सम्भावना हुँदाहुँदै अध्यक्ष ओली पेलेरै अघि बढ्न खोजेको उनको आरोप छ । ओलीले हामीलाई सिध्याउनै खोजेका छन्, तर त्यस्तो हुँदैन । हामी सल्लाह गरेर अघि बढ्छौं,’ बोहोराले भने । ओलीले एकलौटी निर्णय गरेपछि माधव पक्षका नेताहरुको स्थायी समिति बैठक बोलाएको छ ।
आकस्मिक रुपमा बोलाइएको स्थायी समिति बैठकमा अबको रणनीतिका बारेमा निर्णय गरिने नेताहरुले बताएका छन् । ओलीले सरप्राइज जस्तै सबै पद खारेज गरिदिएपछि नेपाल पक्ष प्रतिकृया विहिन भएको छ । उनीहरुले केन्द्रिय समितिको बैठकका बारेमा पनि जानकारी नपाएको बताएका छन् । शुक्रवारको बैठक सकिए पछि प्रधानमन्त्री ओलीले महासचिव इश्वर पोखरेललाई निर्देशन दिँदै आगामी बैठकमा नेपाल पक्षलाई पनि बोलाउन भनेका छन् ।






