काठमाडौ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच आज भेटवार्ता भएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको नेतृत्वबीच आज भएको भेटवार्तामा एमालेबाहेक दल मिलेर सरकार बानाउनेबारे छलफल भएको छ ।
सत्ता सहकार्यका लागि छलफल गर्न जसपा नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको छलफलमा वर्तमान र पूर्वपदाधिकारीहरूले प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने कुरा उठाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माले भने, ‘छलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका कांग्रेसले खेल्नुपर्छ भन्ने उहाँहरूको भनाइ आएको छ । भोलि माओवादीसँग पनि छलफल गर्छौं’ । जसपा नेताहरूसँगको वार्ताअघि कांग्रेस पदाधिकारीको बैठकसमेत बसेको उनले बताए ।
सो बैठकमा वर्तमान र पूर्वपदाधिकारीहरूले प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने कुरा उठाएको शर्माले जानकारी दिएका छन् । ‘अब माओवादीसँग कुरा गर्छौं‘ जसपाका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसलगायत दलहरूसँग मिलेर जाने छलफल भएको बताए ।
उनले भने, ‘मिलेर जाने विषयमा छलफल भयो। केही सहमति भएको छैन। वृहत छलफल गर्नुपर्ने आवश्यकता छ। हामी माओवादी केन्द्रसँग पनि छलफल गर्छौं,’ ठाकुरले पत्रकारहरूसँग भने । जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो।






