बागलुङ । पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यका सबै संयन्त्र ओलीकरण गर्ने प्रयास भइरहेको बताएका छन् । नेपाली कांग्रेस सम्वद्ध शुभेच्छुक संगठन नेपाल शिक्षक संघ बागलुङको २० र २१ औँ जिल्ला प्रतिनिधि सभालाई बिहीबार सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीको नियत ठिक नभएको बताए ।
संसद विघटन प्रयास विफल भए पनि एकपछि अर्को संयन्त्र कब्जा गरी लोकतन्त्रलाई धराशायी पार्ने प्रधानमन्त्री ओलीको प्रयास जारी रहेको थापाले दाबी गरे । उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको नियत नै खराब छ, राज्यका संयन्त्रलाई प्रभावमा पारेर ओलीकरण गर्न खोज्नुभएको छ ।’ थापाले भने, ‘प्रधानमन्त्रीको यस्तो कार्यशैलीले लोकतन्त्र धराशायी हुने अवस्थामा पुगेको छ, यसको बिरुद्धमा सबै जागरुक हुनु पर्ने बेला आएको छ ।’
नेता थापाले अब कम्युनिस्टको वास्तविक चित्र उदांगो भइसकेको उल्लेख गर्दै अब मुलुकलाई निकास दिने कांग्रेसबाहेक अरु पार्टी हुनै नसक्ने दाबीसमेत गरे । ओलीविरुद्ध बोल्ने सबैलाई नियन्त्रण गर्न थालिएको बताए । ‘ओलीको मनपरी अराजकता रोक्ने काम कांग्रेसले गर्नुपर्छ ।’ उनले भने । प्रधानमन्त्री ओलीले दुईवटा पार्टी गाभेर नक्कली पार्टी बनाई जनतालाई झुक्याएर सत्तामा पुगेको थापाको आरोप थियो । कांग्रेस कुनै लोभ लालचमा नफस्ने भन्दै अब निर्वाचनबाट मात्रै कांग्रेस सत्तामा जाने थापाले उद्घोष गरे ।






