काठमाडौ । सर्वोच्च अदालतको फैसलासँगै विकसित राजनीतिक अवस्थाले अहिले तरंग उत्पन्न गराएको छ । सबैभन्दा धेरै अप्ठेरो प्रचण्ड छोडेका माओवादी केन्द्रका नेता तथा ओली छोडेका नेकपा एमालेका नेतालाई परेको छ ।
सर्वोच्चको फैसला पछि एमालेका नेता रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समुहले एमालेमै रहेर ओलीको प्रवृत्ती विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । यता नेकपा माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरू पुनःस्थापित नेकपा एमालेमा सामेल हुने भएका छन् । उनीहरुले प्रचण्डको साथ छोड्ने निर्णय गरेका छन् ।
अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका मन्त्री र नेताहरूसँग आइतबार साँझ बालुवाटारमा छलफल गरेका थिए ।
प्रधानमन्त्री ओली संगको छलफलमा उनीहरुले साथ नछोड्ने निर्णय सुनाएका हुन् । आफुहरु पदका लागि ओली समुहमा लागेको नभई कम्युनिष्ट सिद्धान्त र निष्ठाका लागि लागेको भन्दै यस्तो निर्णय सुनाएका हुन् । प्रधानमन्त्री ओलीले चाहे तत्काल मन्त्री पद छोड्न तयार रहेपछि ओलीको साथ भने नछोड्ने बताएका छन् ।
अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेताहरूसमेत छलफलमा सहभागी थिए । प्रधानमन्त्रीले अदालतको फैसला यस्तो आएको भन्दै ‘अब तपाईंहरु के भन्नुहुन्छ ? म तपाईंहरूलाई जे अनुकूल हुन्छ त्यही वातावरण बनाइदिन्छु ।’ भनेका थिए ।
स्रोतले भन्यो, ‘उहाँहरूसँग प्रधानमन्त्रीले खुलस्त कुरा राख्नुभयो । तर, सबैजनाले प्रधानमन्त्रीको साथ नछोड्ने भन्नुभयो । नेकपा माओवादी केन्द्रबाट साबिक नेकपामा केन्द्रीय सदस्य रहेका एक दर्जनभन्दा बढी नेताहरू केपी ओली पक्षमा छन् ।






