काठमाडौ । झण्डै तीन वर्ष भूमिगत गतिविधि गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शुक्रबारबाट शान्तिपूर्ण राजनीतिमा आएको छ । सरकारसंग तीन बुँदे सहमति गरेर यो समुह खुला राजनीतिमा आएको हो ।
यद्धपी केही विषय भने सार्वजनिक गरिएका छैनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीसंग सहमति गरेर सार्वजनिक राजनीतिमा आएको यो पार्टीको प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले ओलीसंग सहकार्य हुन नसक्ने बताएका छन् ।
उनले सरकारसंग सहमति गरेर खुला राजनीतिमा आएको भएपनि ओलीसंग भने सहकार्य हुन नसक्ने बताएका छन् । सरकारमा अहिले ओली भएकाले ओलीसंग सहमति गर्नुपरेको उनको भनाई छ ।
अनलाईन खबरसंग भिडियो अन्तरवार्ता दिँदै प्रकाण्डले भने, हामीले अगाडि सारेका मुद्दाहरु जो थिए, ती विषयको समाधान टेबुलबाट भयो । यो कुरा कुनै पार्टी नभई जसको नेतृत्वमा सरकार छ, उसैसँग हुन्थ्यो । अहिले ओलीजी भएकाले उहाँसँगै भयो ।
इतिहासको आवश्यकताको संयोग जस्तो पनि भयो । अब हाम्रो एजेण्डाबारे ओलीजीको पार्टीसँग पनि कुरा गर्छौं । प्रचण्ड–नेपालजीको पार्टीसँग पनि गर्छौं । देउवाजी, महन्थजी, बाबुरामजी लगायतको पार्टीसँग पनि कुरा गर्छौं । सही निकास निकाल्न कार्यक्रम पेश गर्छौं ।
अहिलेको समाधानको रुपमा हामीले वैज्ञानिक समाजवाद अघि सारेका छौं । यस सन्दर्भमा जनमत संग्रहमा जाउँ र जनताले के फैसला गर्छन्, मानौं भनेर हामी कार्यक्रम पेश गर्नेवाला छौं ।






