काठमाडौ । सर्वोच्चद्वारा आइतबार खारेज गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले पछिल्लो समय एकतामा जोड दिंदै आई रहेका छन् । नेता भट्टराईले एकताकालागी फरक मत राख्दै आईरहेकाछन् । पार्टी विभाजन भएलगत्तै प्रचण्ड नेपाल खेमामा गएका उनी एकताको पक्षमा देखिंदै आएका छन् ।
त्यसका लागि दोस्रो तहका नेतालाई भूमिका दिनुपर्ने उनले सुझाव समेत दिएका छन् । यस अघि अर्का नेता जनार्दन शर्माले पनि पार्टी एकता कायम राख्नुपर्ने सुझाव पार्टीमा दिएका थिए । कांग्रेस नेतृत्वको सरकार गठन गर्न जनताको आदेश नभएको भन्दै स्थायी कमिटी सदस्य जनार्दन शर्माले सचिवालयबाहेकका सांसदहरु बसेर स्वतन्त्र निर्णय लिनुपर्ने प्रस्तावसहित आफ्नो फरक मत प्रस्तुत गरेका थिए ।
त्यसको भोलिपल्ट अर्का प्रभावशाली नेता योगेश भट्टराईले पनि फरक मत राखेपछि प्रचण्ड–माधवलाई झडका लागेको हो । स्थायी कमिटी सदस्यसमेत रहेका नेता भट्टराईले आज नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने ८ सूत्रीय बुँदा सार्वजनिक गर्दै प्रचण्ड–माधव समुहले बोलाएको संसदीय दलको बैठकसमेत बहिष्कार गरेका छन् ।
भट्टराईले भनेका छन्, ‘इगो नराखौं, पार्टी जोगाएर जाने अवसर अझै पनि बाँकी छ ।’ यस्ता छन् एकता जोगाउने भट्टराईका आठ बुँदाः
१. प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएर नेकपाकै नेतृत्वमा सरकार गठनको अगुवाइ गर्ने ।
२. इगो नराखे प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्ने, नत्र नेकपाबाटै दोस्रो पुस्ताबाट अर्को व्यक्तिलाई सहमतिमै प्रधामन्त्री बनाउने ।
३. केपी ओली, प्रचण्ड र माधव नेपाल तीनजना अध्यक्ष हुने ।
४. तीन अध्यक्ष राख्दा पनि नमिले झलनाथ खनाल र वामदेव गौतम समेत थपेर ५ जनाको अध्यक्ष मण्डल बनाउने । त्यसैले दैनिक पार्टी सञ्चालनबाहेक नीतिगत नेतृत्व गर्ने ।
५. महासचिव बिष्णु पौडेलको नेतृत्वमा हालको स्थायी कमिटी सदस्यमध्येबाट १५–१७ सदस्यीय सचिवालय बनाउने, अहिलेको ९ सदस्य सचिवालय भंग गर्ने ।
६. महासचिव पौडेल नेतृत्वको सचिवालयले ‘टिओआर’ सहित पार्टी सञ्चालन गर्ने र एकताका बाँकी काम समय तोकेर टुंग्याउने ।
७. प्रदेश सरकारहरुको पुनर्गठन गर्ने, संघीय सरकार गठन गर्दा मन्त्रीहरुको चयन बिचार समूहहरुको सम्मानजनक प्रतिनिधित्व गराउने ।
८. स्थानीय तह र संघ तथा प्रदेशको चुनावसम्म पार्टी सहमतिका आधारमा चलाउने र चुनावपछि महाधिवेशनबाट नयाँ नेतृत्व र बिचार सहित अघि बढ्ने ।






