काठमाडौ । सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव असंवैधानिक भन्दै फैसला सुनाएपछि पहिलो पटक आइतवार संसद बैठक बसेको छ । आइतवार दिउसो ४ वजेवाट संसद बैठक सुरु भएको हो । प्रधानमन्त्री ओलीले गरेको निर्णय विरुद्ध फैसला सुनाउँदै सर्वोच्चले १३ दिन भित्र संसद बैठक बोलाउन भनेको थियो ।
संसद बैठक सुरु भएकै दिन वृहत् नागरिक आन्दोलनकर्ताले आज काठमाडौँ प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले हात र खुट्टामा साङ्लो र अनुहार सेतोपट्टि बाँधेका छन् । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर हुँदै संसद भवन अगाडी आइपुगेको हो ।
केही प्रदर्शनकारीहरुले प्लेकार्ड समेत बोकेको देख्न सकिन्छ । तिमी मालिक होइन, जनताको सेवक हो , ससंदको गरिमा कायम गर । जनताको समस्या ज्युँका त्युँ छ, खबरदार फोहोरी खेलमा नलाग । सासंदहरु खबरदार । सत्ताको मोहमा नफस लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् ।
संसद विघटन पछि सुरु भएको वृहत नागरिक आन्दोलन सर्वोच्चले संसद विघटनको निर्णय उल्ट्याइदिएपछि पनि आन्दोलन जारी छ । उनीहरुले सरकारको अलोकतान्त्रिक गतिविधि प्रति खवरदारी गर्दै आन्दोलन जारी राखेका छन् ।






