काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाले सभामुख अग्नि सापकोटालाई दलको नेताका रुपमा प्रचण्डलाई बोल्न दिए मु ड भे ड हुनेछभन्दै चेतावनी दिएका छन् । ओली पक्षधरले सभामुखको भूमिका शंकास्पद रहेको ठहर गर्दै उक्त चेतावनी दिएका हुन् । सभामुख संविधान र कानून बमोजिम नचले सदन चल्न नदिने अवस्था आउन सक्ने आंकलन पनि नेकपाको ओली पक्षले गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गएराति नेकपा संसदीय दलका पदाधिकारीहरुसहितका नेताहरुबीचको छलफलमा सभामुखले प्रचण्ड–माधव पक्षलाई दलको मान्यता दिने गरी अघि बढे प्रतिवाद गर्ने कुरा उठेको एक नेताले बताए ।
उनले भने, ‘सभामुखको पारा अहिले पनि प्रचण्डको गुरिल्ला भन्दा माथि उठ्न सकेको छैन । आजै त बैठकमा नेताहरुले बोल्ने कुरा हुन्न, बहालवाला सांसदको निधन भएकाले श्रद्धाञ्जली दिएर सकिन्छ होला । तर प्रचण्डलाई दलको नेताको रुपमा बोल्न दिने सापकोटाको तयारी छ त्यसो भयो भने मुठभेड हुनसक्छ ।’
नेकपा कानूनी रुपमा विभाजन नभएको र संसदीय दलको नेता वैधानिक रुपमा केपी ओली नै रहेकाले प्रचण्ड–माधव पक्षले दुईपटक राजनीतिक निर्णयबाट प्रचण्ड नेता चयन भए पनि त्यसलाई सचिवालयले कानूनी मान्यता नदिएको भन्दै ओली पक्षले सभामुखले जबर्जस्ती गरे, आफ्नो पक्ष पनि जबर्जस्तीमै उत्रिने चेतावनी दिएको छ ।
सचिवालयले नेकपाको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिइसकेको छ । तर सभामुखले भट्टराईलाई भेट्न मानेका छैनन् । आज संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपर्छ । अहिलेसम्म भट्टराई र सचेतक शान्ता चौधरीसहित ओली पक्षका सांसदहरुलाई खबर आएको छैन ।
नेकपा विवादको असर कार्यव्यवस्था परामर्श समितिबाटै शुरु हुने देखिएको छ । कार्यव्यवस्थाको बैठक बस्ने कि नबस्ने भन्नेमै सभामुख परामर्शमा रहेको निकट स्रोतले जनाएको छ । परामर्शको बैठक नबसी सीधै संसद शुरु गर्ने कि भन्ने कोणबाट पनि छलफल चलिरहेको छ ।






