काठमाण्डौ । दाहाल नेपाल पक्षका एक केन्द्रीय कमिटी सदस्यको भनाई अुनसार समूहमा छलफल हुँदा अध्यक्ष माधव कुमार नेपालले नेपाली कांग्रेससंग सहकार्य गरेर सभापति शेर बहादुर देउवालाई नै प्रधानमन्त्री बनाउने बताएका छन् ।
उनले भने, ‘माधव कमरेडले भन्नु भयो, एकता कुनैपनि हालतमा हुँदैन र हुनै सक्दैन । त्यो सम्भावना नै छैन । अबको प्रधानमन्त्री शेरबहादुर देउवालाई नै मानेर जाने हो । त्यसैले कतिपय साथीहरूले एकताको कुरा गरे पनि त्यो मैले सम्भव देख्दिनँ ।’
दोस्रो पुस्ताका अधिकांश नेता र सांसदहरू विभिन्न विकल्पमा छलफल गरेर पार्टी एकता बचाउनुपर्ने पक्षमा रहेका बेला नेतृत्व पंक्ति भने आफ्नै नेताहरूलाई कारबाही गर्दै आगामी सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न खोजिरहेका छन् ।
दाहाल–नेपालले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने र सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने जानकारी बुधबारको केन्द्रीय कमिटी बैठकमा दिइसकेका छन् । ‘बैठकमा नेकपा एकताबद्ध राख्ने विषयमा केही सम्भावना छ कि भन्ने कुरा उठेको थियो ।’






