काठमाडौ । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द आज सार्वजनिक हुँदैछन् । बुधबार र बिहीबार सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको वार्ता सफल भएपछि बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले २ वर्षअघि लगाएको प्रतिबन्ध हटाएर विभिन्न मुद्दामा थुनामा रहेका चन्द नेकपाका नेताकार्यकर्तालाई रिहा गर्ने प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले यसका लागि प्रहरी प्रधान कार्यालयलाई सर्कुलर गरेको उच्च स्रोतले बतायो । गृहमन्त्रीनिकट एक अधिकारीले भने, ‘चन्द नेकपाका सबै शीर्ष नेता छाड्न परिपत्र भइसकेको छ ।’
आज (शुक्रबार) २ बजे चन्द सार्वजनिक हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले सहमतिको विस्तृत विवरण प्रस्तुत गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज हेलिकप्टरमा काठमाडौं आउँदैछन । उनलाई ल्याउन सरकारले हेलिकोप्टर ‘स्ट्याण्ड बाई’ रोखेको छ ।
विप्लवलाई लिन जान निजी कम्पनीको हेलिकप्टर स्ट्याण्डबाई राखेको सरकारको एक मन्त्रीले जानकारी दिए । स्रोतकाअनुसार विप्लवलाई काठमाडौं ल्याउन एक निजी कम्पनीको हेलिकोप्टर तयारी अवस्थामा राखिएको हो । यसअघि बिहीबार भएको वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने र झूटा मु द्दा खारेज गर्नेसम्म रहेका छन् । सरकारले उक्त समझादारीलाई कार्यान्वयनमा लैजाँदै चन्दमाथिको प्रतिबन्ध बिहीवार साँझ नै हटाएको थियो । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्दै सरकारी र चन्द पक्षबीच भएको सहमतिलाई अनुमोदनसमेत गरेको हो ।






