काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले नेकपाको आधिकारिकताको विवादको निर्णय हतार नगरी गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । राजनीतिक रुपमा एक रहेको नेकपाको आधिकारिकताको विवाद चाँडोभन्दा चाँडो टुंग्याउन विभिन्न पक्षबाट आग्रह गरिरहेका बेला नेता बस्नेतले हतार नगरी विवादको निर्णय गर्न आग्रह गरेका हुन् ।
बिहीबार आयोगमा पुगेका नेता बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुसँग केहीबेर छलफल गरेका थिए । आयोगले नेकपाको आधिकारिकताको विवादको सम्बन्धमा निर्णय गर्न ढिलाइ गरेकाले आयोगको भूमिकामाथि प्रशन उठिरहेको बेला ओली पक्षका अत्यन्त निकट मानिने नेताले गरेको भेटघाटलाई अर्थपूर्णरुपमा लिइएको छ । प्रतिनिधिसभाका सांसदसमेत रहेका बस्नेतले भने आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग नेकपाका बहुमत सदस्य पार्टी एकताको पक्षमा रहेकाले विभाजनको निर्णय दिन हतारो नगर्न आयोगलाई आग्रह गरेको बताए ।
‘हामीहरू एकताको अभियानमा लागेका छौँ, विभाजनको निर्णय गर्न हतारो नगरिदिनुहोस्,’ बस्नेतले भने । उनले पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले वक्तव्य निकालेर बाहिरबाट दबाब बढाएकोसमेत आयोगमा चर्चा गरेको बताए । यता, एक आयुक्तले भने बस्नेतसँग कुनै औपचारिक छलफल नभएको दाबी गरे । बस्नेतले सञ्चारकर्मीसँग बाहिर भनेजस्तो कुनै सल्लाह नभएको जिकिर गरे ।






