चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राखेका छन् । उनले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए ।
उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए । प्रतिनिधिसभा सदस्य डा। कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’
उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए । फरक प्रसंगमा महामन्त्री डा। कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।
त्यस्तै प्रतिनिधि सभा बैठक २३ फागुनमा बस्नुअघि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको छ । बैठकमा संसदीय दलका नेता समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी कदमबारे जानकारी गराउनेछन् ।
काँग्रेसले अब खेल्ने भूमिकाले भावी प्रधानमन्त्रीको समेत टुंगो लाग्नेछ । अहिले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको छ । उनी पर्ख र हेरको अवस्थामा छन् । देउवालाई प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलिसकेको छ । तर, उनी प्रचण्ड र नेपालभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समिकरण बनाएर जान चाहिरहेका छन् ।
अहिले प्रतिनिधि सभामा कानुनी रुपमा विभाजित नभएको नेकपाको १७४ सिट छ । काँग्रेसको ६३ सिट छ । नेकपा कानुनी रुपमा विभाजित भएमा काँग्रेस निर्णायक शक्ति बन्न सक्छ । त्यतिबेला देउवा प्रधानमन्त्री बन्ने दाउमा छन् । तर, उनलाई पार्टीभित्रबाट वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चुनौती दिनसक्ने संकेतहरु देखिएका छन् ।






