काठमाडौ । सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको साढे ३ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले जानकारी दिए ।
वार्ता सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’
सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका भने विप्लव समूहको नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौ आएको थियो ।
सरकारले गृहमन्त्री थापाको नेतृत्वमा डा.भट्टराई रहेको वार्ता टोली बनाएलगत्तै विप्लव समूहले पनि विश्वकर्माको संयोजकत्वमा उदय चलाउने सदस्य रहेको वार्ता टोली बनाएको थियो । दोश्रो चरणको वार्ताको समय भने खुलाइएको छैन ।
दुवै वार्ता टोलीको नेतृत्वकर्ता पाँच वर्षअघिसम्म एकै पार्टीमा थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा विप्लवको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । तर, पछिल्लो समय समस्याको समाधान वार्ताबाटै गर्न दुवै पक्ष तयार देखिएका थिए । वार्ताका लागि विभिन्न सूत्रमार्फत अनौपचारिक संवादको प्रक्रिया अगाडि बढेको थियो ।
तर, विभिन्न नेताले गरिरहेका अनौपचारिक संवाद कामयावी हुन नसकिरहेका बेला गृहमन्त्री थापाले परिचालन गरेको सूत्रमार्फत पहल भएपछि वार्ताको वातावरण बनेको हो । गृहमन्त्री थापाले तत्कालीन माओवादी जनमुक्ति सेनाका डिभिजन सहकमान्डर नेपबहादुर कुँवर ‘विवेक’लाई परिचालन गरेका थिए ।
नेता कुँवर नेकपा विभाजन नहुँदै गृहमन्त्री थापाको निर्देशनमा वार्ताको वातावरण बनाउन लागेका थिए । कुँवरले चलाउनेलगायत नेतासँग सम्पर्क बढाई दुवै पक्षका कुरादेखि पत्र आदानप्रदानको काम गरेका थिए । त्यसपछि दुवै पक्षबीच तीनबुँदे सहमति लिखित रूपमा भएको स्रोतको भनाइ छ ।
तर, उक्त सहमति गोप्य राख्ने गरी दुवै पक्षले हस्ताक्षर गरेपछि वार्ता टोलीको घोषणा गरिएको हो । त्यसमा विप्लवको पार्टीबाट विप्लव स्वयंले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री थापाले हस्ताक्षर गरेका छन् ।






