काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिलाई चढाएको १ सय ८ किलो सुन श्रीमतीलाई तिलहरी, झुम्के बुलाँकी, कुण्डलीकालागी खर्च नगरेको बताउँदै सरकारले दिएको ३० करोड रुपैयाँको बचाउन गरेका छन् । उनले आफ्नो ब्यक्तिगत प्रयोगका लागि नभई पशुपतिनाथलाई दिएको हुनाले आलोचना गर्नुको अर्थ नभएको पनि बताएका छन् ।
‘कसैलाई भ्रष्टाचार गर्न दिएको त हैन नी । पशुपतिनाथलाई दिएको हो । मैले श्रीमतीलाई कुण्डली, तिलहरी झुम्के बुलाकी हालिदिएको हैन, शिवजीलाई दिएको हो १ सय ८ किलो सुन ।’ उनले भने । उनले आफूले प्रधानमन्त्रीको नेतृत्व गरेपछि ठूला–ठूला पूर्वाधारका काम गरेको दावी गरे । आफ्नो काम देखेर आफूलाई रोक्न खोज्नेहरू बढेको उल्लेख गरे ।
उनले भने– ‘लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल अब तयार हुन लागेको छ । लुम्बिनीमा हामीले सभा गर्न जाँदा सभा गर्ने ठाउँ नै थिए । विदेशीहरु बोलाएको थियो, अन्तर्राष्ट्रिय सम्मेलन गरिएको थियो । भरे त जुत्ता हिलोमा अड्किने, सुरुवाल माथि सार्नुपर्ने ?
त्यस्तो हिलोमा पो परियो । त्यसपछि मैले भने २ वर्षभित्र ५ हजार क्षमताको हल बनाउँछु । यसले त देश बनाउने भो रोक्नुपर्छ । यसले त देश माथि उठाउने भो हटाउनुपर्छ भनेर हटाए । म नेपाली जनताप्रति कृतज्ञ छु, उहाँहरुले फेरि मलाई जिताएर प्रधानमन्त्री बनाउनुभयो ।’
उनले यस वर्षको बौद्ध जयन्ती लुम्बिनीको विशाल हलभित्र मनाउने बताए । उनले आफूले इतिहासमै नभएको काम गर्दै नेपाल सुरुङ युगमा प्रवेश गरेको बताए । उनले भने– ‘थानकोट नौबिसे सुरुङमार्ग धमाधम खन्ने कार्य भइरहेको छ । अब नौबिसेबाट काठमाडौं आउँदा घुम्दै घुम्दै आउन पाइनेछ कतै गाडी पल्टिएला भन्ने डर छैन ।
अब नौबिसेबाट छिर्यो काठमाडौंमा फुत्त, काठमाडौंबाट छिर्यो नौविसेमा फुत्त, अब हामी झापाबाट पूर्वपश्चिम रेलमार्गको शिलान्यास गर्दैछौँ । ठूला काम गर्ने हाम्रो उत्साह नै ठूलो । आफ्ना छोराछोरी घर त जसले नी हेरिहाल्छ नि । हामी ठूला काम गर्ने हो, देशलाई आधुनिक बनाउने हो ।’ प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि धेरै हवाई मैदानहरु बनाएको उल्लेख गरे । उनले युगान्तकारी काम गर्दै एउटा युगको सुरुवात गरेको दावी गरे ।






