काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको विषयलाई लिएर प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै,‘प्रधानमन्त्रीको राजीनामा माग्नकोलागी सभ्य शैलीबाट प्रस्तुत हुन सकिन्छ तर अनुचित, क्षुद्र र अनैतिक दबाब दिंदै मागेको राजीनामा केका लागी ?’
उपप्रधानमन्त्री पोख्रेलले नेपाललाई स्मरण गराउँदै ट्वीट गरेका छन्,‘ताजा जनादेशका लागि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो । मनमोहन अधिकारीले अस्वस्थता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो ।’
त्यतिबेला एमालेले अदालतको निर्णयविरुद्ध सडक आन्दोलनको नेतृत्व नेपालले गरेको थियो । उनले यस्तो पृष्ठभूमिसित गाँसिएका नेपालले समेत नैतिकताको हवाला दिएको भन्दै प्रश्न उठाए । ‘यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिँदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दबाब दिइरहेका छन् । यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ?’ पोखरेलको प्रश्न छ ।
संसद्को सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति भन्दै उनले प्रश्न थपेका छन् । तत्कालीन मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले संसद् भंग गर्दा अदालतले पुनःस्थापना गरिदिएको घटना नेपाललाई ओली समूहका नेता पोखरेलले स्मरण गराएका हुन् ।






