काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम एकताको प्रस्ताव लगेर बालुटार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका छन् । उपाध्यक्ष गौतम नेकपाका अर्का अध्यक्ष प्रचण्डपछि प्रधानमन्त्री ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् ।
प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा पनःस्थापनापछि सत्ता समीकरणको प्रयास गर्दै गर्दा गौतमले भने पार्टी एकतालाई जोड दिंदै आई रहेका छन् । एकताकोलागी दबाब श्रृजना गर्न प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा लामो भेटवार्ता भएको बुझिएको छ ।
गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन् । ओलीसंगको भेटमा गौतमले ओलीलाई पार्टी एकताको प्रस्ताव राखेका छन् । एकताको पक्षमा प्रधानमन्त्री ओलीले ठोस जवाफ नदिएपनि उनी सकारात्मक रहेको उपाध्यक्ष गौतमले बताएका छन् ।
गौतमले ओलीलाई त्याग गरेर भए पनि पार्टी एकता जोगाउन सुझाव समेत दिएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन हुँदा उपाध्यक्ष गौतमले नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् ।
संसद् विघटनपछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेका हुन् । नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ बनेका गौतमले बिहीबार मात्रै दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर एकताको अपिल गर्न आग्रह गरेका थिए ।






