काठमाण्डौ । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिलेसम्म कानुनी रूपमा एक रहेको र सरकारसँग दुई तिहाइ मत रहेकाले कांग्रेसले सरकार गठनको कुरा गर्नु उपयुक्त नभएको निष्कर्श निकालेको छ । बिहीबार बसेको पदाधिकारीको बैठकले नेकपा भित्रको विवादको टुङ्गो नलागेसम्म नयाँ सरकार गठनको विषयमा कांग्रेसले कुनै निर्णय नगर्ने कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले बताए ।
सचिव पौडेलका अनुसार सर्वोच्चले संसद् पुनर्स्थापनको फैसला गरे पनि अहिलेसम्म नेकपा कानुनी रूपमा एक रहेको र सरकारसँग दुई तिहाइ मत रहेकाले कांग्रेसले अन्य विषयमा सोच्न उपयुक्त नहुने पदाधिकारी बैठकले निर्णय गरेको छ ।
‘दुई तिहाइ बहुमत नेकपासँगै छ, अहिलेसम्म उनीहरू फुटेका छैनन्, यस्तो अवस्थामा कांग्रेसले सरकार गठनको विषयमा छलफल गर्ने कुरै भएन ।’ एक पदाधिकारीको भनाइ उल्लेख गर्दै सचिव पौडेलले भने । सहकार्यका लागि बुधवार प्रचण्ड र माधव नेपालले सभापति देउवालाई भेटेको विषयमा पनि बैठकमा कुरा भएको थियो । जवाफमा देउवाले प्रचण्ड र नेपालसँग कुरा गरेको तर अहिले सरकार गठनमा सहभागी हुने विषयमा कुनै निर्णय नदिएको उनले बताए ।
सर्वोच्च अदालतले संसद् पुनर्स्थापनको फैसला गरेसँगै प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठनका लागि दौडधुपमा लागी परेका छन् । कांग्रेसको बिहीवारको पदाधिकारी बैठकमा १४ औँ महाधिवेशन र क्रियाशील सदस्यताको टुङ्गो लगाउन बनेको छानबिन समितिले आफ्नो प्रगति पेस गरेको छ ।






