काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गलत भन्न नसकेका संविधान सभाका अध्यक्ष एवं नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको फैसला पछि भने बोली फेरेका छन् ।
उनले प्रतिनिधि सभा विघटन नगर्न आफूले सुझाव दिँदादिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको खुलासा गरेका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला सुनाएको भोलिपल्ट बुधबार नेम्वाङले प्रधानमन्त्री ओलीले आफ्नो सल्लाह बेवास्ता गरेका कारण आज यस्तो अवस्था आएको बताएका हुन् ।
बुधबार न्युज २४ सँग कुरा गर्दै नेता नेम्वाङले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले मेरो बाध्यता भयो, मसँग अरू विकल्प भएन भन्नुभयो। यो कानुनी र राजनीतिक रूपमा ठीक हुँदैन है प्रधानमन्त्रीज्यू भनेर मैले भनेको हो, मिडियामा पनि केही कुरा त आएकै हुन् ।’
त्यस क्रममा नेम्वाङले आफूलाई लागेका कुरा प्रधानमन्त्रीलाई जहिले भन्ने गरेको तर मान्नेरनमान्ने उनकै सोचमा भरपर्ने पनि बताए । अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले सधैँ आफूलाई लागेको कुरा भन्ने गरेको छु । प्रधानमन्त्रीलाई धेरैले आफ्ना कुरा भन्ने गर्छन्, मैले पनि आफ्ना कुरा भन्ने हो । सधैँ मेरा कुरा मात्र मान्नुहुन्छ भन्ने पनि होइन। त्यति बेला मेरा कुरा उहाँले मान्नुभएन ।’






