काठमाण्डौ । नेकपका उपाध्यक्ष एवं राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले नेकपाका दाहाल नेपाल समूहका अर्का अध्यक्ष प्रचण्डले आफुसंग गरेको बाचा पुरा नगरेको बताएका छन् । संसद पुनःस्थापनाको निम्ति आफुलाई भूमिका खेल्न प्रचण्डले आग्रह गर्दा नेता गौतमले प्रचण्ड सामू २ शर्त राख्दा ती शर्तलाई पुरा गर्ने बाचा दिएको तर पुनःस्थापना लगत्तै त्यो बाचा प्रचण्डले पुरा नगरेको नेता गौतमले बताएका छन् ।
उपाध्यक्ष गौतमको भनाई अनुसार प्रचण्डसंग बामदेवको पहिलो शर्त पुनःस्थापना भएलगत्तै प्रचण्डले नै पार्टी एकताको आह्वान गर्ने थियो भने दोश्रोमा राष्ट्रपति लगाएत कुनैपनि न्यायधिशहरुलाई माहाअभियोग नलगाउने थियो । तर सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीद्धारा विघटन गरिएको प्रतिनीधिसभालाई असंवैधानिक ठहर गर्दै मंगलबार बदर गरिदिएपछि प्रचण्डले केपी ओलीसंग कुनैपनि हालतमा एकता हुन नसक्ने अभिव्यक्ति दिएपछि उनले बोली फेरेको नेता गौतमको भनाई छ ।
हिमालय न्यूजहवसंग कुराकानी गर्दै नेता गौतमले भने,‘मलाई प्रचण्डले पुनःस्थापनाको निम्ति भूमिका खेल्नुस् भन्नुभयो । मैले भनें, म खेल्छु । मैले भूमिका खेलें भने पुनःस्थापना हुन्छ । तर मेरा दईवटा शर्त छन् भनेर पनि प्रचण्डलाई भनें । एउटा पुनःस्थापना भएकै दिन तपाईँले पार्टी एकताको निम्ति आह्वान गर्नु पर्छ र अर्को राष्ट्रपति लगाएत कुनैपनि न्यायधीशहरुलाई माहाअभियोग लगाउन पाउनु हुन्न भन्ने थियो । उहाँले मेरा ती दुई वटै शर्तहरुलाई मान्नु भयो र मलाई बचन दिनु भयो । म पुनःस्थापनातिर लागें, तर अहिले उहाँले केपीसंग कुनैपनि हालतमा पुनःस्थापना हुँदैन भन्नु भएको छ । त्यसैले उहाँले बोली फेर्नु भएको छ ।’
उपाध्यक्ष गौतमले एकतामा आवद्ध भएकाहरुले परिस्थिति जे जस्तो भएतापनि आफुहरु एकताको निम्ति नेतृत्वलाई एउटा ठूलो दबाब सिर्जना गर्ने काममा एकजुट हुने बताए । साथै उनले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनेर प्रमाणीत गरिदिएको हुनाले ओलीले तत्काल राजिनामा दिनुपर्ने पनि बताएका छन् ।






