काठमाण्डौ । विवेकशील साझा पार्टीले राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । सो पार्टीको विज्ञप्ति मार्फत प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामाको माग गरेको हो । विज्ञप्तिमा पार्टीले विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा कुनै अवाञ्छित चलखेल नगरी नयाँ सरकार निर्माणको मार्ग प्रशस्त्र गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘विवेकशील साझा पार्टी अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ ।’ विज्ञप्तिमा अगाडी लेखिएको छ,‘विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्दछ ।’
‘संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबरस्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई हामी आह्वान गर्दछौँ ।’ सो पार्टीले ‘पछिल्लो समय असंवैधानिक ढङ्गले गरिएका सम्पूर्ण नियुक्तिहरू खारेज गर्न’ पनि माग गरेको छ ।
‘सम्मानित अदालतको उक्त फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको छ,’ विवेकशील साझाले भनेको छ, ‘अधिनायकवादी शैलीमा मुलुक हाँक्ने कुत्सित मनोकांक्षाको अवसान भएको छ ।’ अदालतको कदमले संविधानवादको रक्षा भएको र विधिको शासनको पुनर्बहाली भएको उल्लेख गर्दै विवेकशील साझाले मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको उल्लेख गरेको छ ।






