काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा गएर क्ष’मा पूजा गर्ने भएकी छन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा बुधबार (आज) राष्ट्रपति भण्डारीले क्ष’मा पूजा गर्ने भएकी हुन् । विभिन्न पक्षको विरोधका बीच पशुपतिनाथ मन्दिरमा जलहरी निर्माणको काम हुँदै आएको छ ।
जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण भएका छन् भने उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् । यस्तै भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य तथा जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीले जानकारी दिए ।
केसी अनुसार राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने छ । यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो । करिब १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेको थिए ।
यसैबीच ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका थिए । तर सो रिटमा मुद्दा परेपनि आदेश आउनुअघि नै निर्माण कार्य सक्नेगरी काम भइरहेको स्रोतले जनाएको छ ।






