काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १७ र २७ गते हुने चुनावका लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् । शुक्रबार पाँचौँ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो चुनावका लागि आन्तरिक तयारी पूरा भएको बताएका हुन् ।
फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरि मतदान स्थल र मतदान केन्द्रहरूको निधो गरिने उनको भनाइ छ । चुनाव सामग्रीहरूको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रूपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरूको खरिद योजना तयार गरिएको बताएका छन् । चुनावमा सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले प्रयोग गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताए ।
उनले भने,‘आउँदो चुनावको सिलसिलामा पनि हामीले आन्तरिक तयारी लगभग पूरा गरेका छौँ । यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ । देशभरि मतदानस्थल र मतदान केन्द्रहरूको निधो गरिनेछ । त्यसलगत्तै हाम्रा चुनावका कार्यक्रम अगाडि बढ्नेछन् । हामीले यो वर्ष चुनावमा मिडिया क्षेत्रको भूमिका र विशेषतः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढङ्गले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति नै तर्जुमा गरेका छौँ ।’
उनले अगाडी भने,‘रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ । चुनावका सामाग्रीको आन्तरिक बन्दोबस्त भइसकेको छ । बाह्य रूपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरूको खरिद योजना तयार गरिएको छ भने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामग्रीहरू तयार गरी अगाडि बढिराखेका छौँ ।’ चुनाव कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुनु हुँदैन र चुनाव निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधैँ अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पारे ।






