काठमाडौ । नेकपाको दाहाल(नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ । प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल(नेपाल समूहका स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए ।
अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने भुसालले जानकारी दिए । ‘सो समयमा हामीले अरू केही अवरोध गर्दैनौँ, धेरै मानिस एकसाथ जम्मा हुने भएकाले ट्राफिक जाम हुन सक्छ, त्यसको व्यवस्थापन ट्राफिक प्रहरीले गर्ला,’ भुसालले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल नेपाल समूह पुस ५ पछि आन्दोलित छ । यो समूहले बुधबार (५ फागुन) देखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको थियो ।
कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए । यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो ।






