काठमाडौ । वास्तुविद् सुरेशचन्द्र रिजाल “शिव”ले सिंहदरवार र संसद भवनको वास्तु नमिलेका कारण नेपालमा राजनीति अस्थिर हुने भन्दै तर्क दिएपछि त्यसको निकै चर्चा भयो । राजनीतिक परिवर्तन पछि बनेका शक्तिशाली सरकार पनि अस्थिर हुनुमा वास्तुदोष रहेको उनले बताएका थिए । वास्तुदोषकै कारण नयाँ बानेश्वरस्थित बि आई सि सिको भवनमा बनाईएको सांसद भवनबाट सबैभन्दा धेरै नेपालको आर्थिक स्थिति कमजोर हुन पुगेको तर्क वास्तुविद् रिजाल लगाएत अन्य वास्तुविद्हरुले गर्दै आईरहेका थिए ।
वास्तुविद् सुरेशचन्द्र रिजाल “शिव”ले प्रधानमन्त्री तथा सांसद भवनको वास्तु नमिलेको कारण यस्ता समस्या बारम्बार आइरहने बताएका हुन् । देशको प्रगतिका लागि वास्तु मिलाउनु अपरिहार्य भएको सुझाव दिइए पछि अहिले सिंहदरवारको वास्तु मिलाइएको छ । भुकम्पले क्षती गरेको सिंहदरवारको मुल मोहडा मध्य उत्तर, पूर्व तथा दक्षिण मोहडाको पुनर्निर्माण कार्य सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अब सिंहदरवार प्रवेश गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सिंहदरबारमा प्रवेश गर्ने कार्यक्रम छ । गत साल चैत २ गतेपछि बालुवाटारबाट सिंहदरबारस्थित आफ्नो कार्यालयमा कामका लागि पुगेका छैनन् ।
११ महिनापछि फागुन ३ गते सोमबार सिंहदरबारको आफ्नो कार्यालयमा भित्रिने शुभ साइत जुरेको छ । शुभ साइतमा नै सिंह दरवार प्रवेश गर्ने भवनको पनि वास्तु मिलाइएको छ । वास्तु शास्त्रको नियम पालना गर्दै निर्माण भएको नवनिर्मित भवनमा प्रवेश गरे लगत्तै प्रधानमन्त्रीलाई झन् शक्तिशाली हुने पनि वास्तुविदहरुको दावी छ । सोमबार प्रवेश कालागि शुभ साइत जुरेको प्रमुख तीन मोहडा वास्तुका हिसाबले अत्यन्तै शुभ रहेको छ ।
अहिले निर्माण सम्पन्न भएका उत्तरी मोहडा,पूर्वी मोहडा र दक्षिणी मोहडा तीन वटै मोहडा उत्तिकै शक्तिशाली छन् । प्रधानमन्त्रीले विगतका समयमा बालुवाटारबाट गरिएका सबै निर्णयहरू विवादास्पद हुने गरेकोमा आगामी निर्णयहरुले सोचेअनुसार नै कार्य गर्ने ज्योतिषी रिजालको दाबी छ ।






