रुपनी जि एम, बाँके । बाँके कारागारमा रहेका कैदी बन्दीहरुको राज्यबाट प्राप्त हुने सेवासुविधामा प्रत्यक्ष पहुँच पुगेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको नेतृत्वमा बाँकेका कैदी बन्दीलाई राज्यबाट प्रदान गरीने उक्त सेवा सुविधामा प्रत्यक्ष पहुँचको व्यवस्था गरिएको हो । प्रजिअ पोखरेलका अनुसार कैदीबन्दीहरुले आगामी दिनमा सेवासुविधा प्रत्यक्ष रुपमा प्राप्त गर्नेछन् ।
कारागार व्यवस्थापन विभाग अन्तरर्गत बाँके कारागारमा पहिलो पटक कैदी बन्दीलाई प्रत्यक्ष रुपमा सेवा सुविधि भत्ता उपलब्ध गराईएको प्रजिअ पोखरेलले बताउनुभयो । ‘राज्यबाट प्रदान गरिएको सेवा सुविधा विचौलियाले दुरुपयोग गर्न नपाउन् भन्ने उद्येश्यले हामीले प्रत्यक्ष रुपमा कैदी बन्दीकै हातमा यो व्यवस्था लागू गरेका हौं ।’ उहाँले भन्नुभयो,‘यो पहिलो चरणको व्यवस्था हो । हामीले भविष्यमा चाँडै नै सहकारी बजारको पनि व्यवस्था गर्नेछौ ।’
चौकीदार, नाईकेर सहायक नाईके मार्फत वितरण हुँदै आएको उक्त रकम पहिलो पटक प्रत्यक्ष रुपमा कैदी बन्दीले बुझेका हुन् । प्रजिअ पोखरेलले कारागार प्रशासन र कैदी बन्दी बीचको सोझो सेवा प्रवाहले चौकीदार, नाईके र सहायक नाईकेबाट प्राय हुने गरेको रकम चुहावट रोक्नका लागि यो व्यवस्था लागू गरिएको बताउनुभयो ।
शुक्रबार प्रदान गरिको सेवा सुविधा अन्तरर्गत प्रत्येक दिनको असी रुपैयाका दरले पन्ध्र दिनको बाह्र सय प्रदान गरिएको कारागारका निमित्त नायव सुब्बा नयन बहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार कारागारमा रहेका नौं सय २० जना कैदी बन्दीलाई सो रकम वितरण गरिएको हो । कैदी बन्दीले कारागारमा सिदा बापत दैनिक ८० रुपैंया नगद र सात सय ग्राम चामल पाउँदै आएका छन् । कैदी बन्दीलाई जाडो र गर्मी मौसममा प्रयोग हुने लुगा बापत नगद दिने व्यवस्था गरिएको छ ।
सेवा सुविधा वितरण गर्न जानु भएका प्रजिअलाई कैदी बन्दीले आफ्ना समस्या सुनाएका थिए । उनीहरुले खाना र लत्ताकपडाको पर्याप्त सुविधा भएपनि आफुहरुलाई बस्नका लागि बास स्थान साँधुरो भएको भन्दै उपयुक्त बासको व्यवस्था गर्न प्रजिअ समक्ष माग गरेका थिए । साथै उनीहरुले बिरामी भएको अवस्थामा समयमा उपचार नपाएको समस्या सुनाएका थिए । बन्दीको समस्या सुनेपश्चात प्रजिअ पोखरेलले कारागार विभागसँग छलफल गरेर सम्बोधन गर्ने आश्वासन दिनुभयो ।
तीन सय ५० जनाको क्षमता रहेको उक्त कारागारमा हाल नौ सय २० जना कैदी बन्दी बस्दै आएका छन् । उक्त कारागारमा ४ सय ७५ जना कैदी रहेका छन् भने ४ सय ४५ जना थुनुवा रहेका छन् । कारागार भवनमा रहेको दुई वटा ब्कमा कैदी बन्दी बाँडिएर बसेका छन् । एउटामा ६ सय ४ जना कैदी बन्दी रहेका छन् भने अर्को ब्लकमा ३ सय १६ जना कैदी बस्दै आएका छन् । क्षमताभन्दा बढी कैदी बन्दी रहेको उक्त कारागारको अवस्थमा जीण रहेको छ । रासस
तस्विर….








