बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले पत्रकारहरुलाई गुण र दोषका आधारमा समाचार बनाउन आग्रह गर्नु भएको छ । शुक्रवार सञ्चारिका समुह बाँके शाखाद्धारा आयोजित अन्तरक्रियात्मक शुभ कामना आदान प्रदान कार्यक्रममा प्रजिअ पोखरेलले गुण र दोषका आधारमा समाचार बनाउन आग्रह गर्नु भएको हो ।
सदभाव खल्बल्याउन खोज्ने पत्रकार पनि अनुसन्धानको घेरमा पर्न सक्ने भन्दै सामाजिक सदभाव खलवलाउने तत्वहरुको पहिचान गर्न बाँके जिल्ला प्रशासन सुक्ष्म अनुसन्धानमा लागिरहेको बताउनुभयो । प्रजिअ पोखरेलका अनुसार समाजिक सञ्जाल मार्फत बाँकेमा सदभाव विथोल्नका लागि सदभाव विरोधी गतिबिधि गर्नेको ट्रयाकिङ गरि पहिचान गर्ने अभ्यासको शुरुवात गरिएको छ ।
बाँकेको सदभावमा देखिएका कमिकमजोरीहरुलाई परिपुर्ति गर्ने भन्दै सरोकारवाला निकायसंग आफनो छलफल अन्तरक्रिया भईरहेको बताउनुभयो । राष्ट्रिय अखण्डतामा खलल पुर्याउने अधिकार कसैलाई पनि नभएको भन्दै प्रमुख जिल्ला अधिकारि पोखरेलले पत्रकारहरुले कलम सचेत भएर समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो ।
बाँके प्रहरी प्रमुख एबं प्रहरी उपरिक्षक सुवास चन्द्र बोहराले पत्रकारहरुलाई संयम भएर पत्रकारीता गर्न आग्रह गर्नुभयो । ‘सभ्य समाज निमार्णका लागि राज्यको चौथो अंगको निकै नै महत्वपुर्ण भूमिका रहन्छ ।’ उहाँले भन्नुभयो,‘जिम्मेवार बनौं र जिम्मेवारी बनाऔं ।’ बाँकेलाई प्रहरीले अपराध मुक्त क्षेत्र बनाउन चहान्छ यसमा आम नागरिक र पत्रकारहरुको पनि उत्तिकै भुमिका रहेको औंल्याउदै प्रहरी प्रमुख बोहराले शान्ति, सुरक्षा, अमन चयनकालागि बाँके प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपालीहरुको महान चाडहरुको पुर्व सन्ध्यामा बाँकेको कोहलपुरमा जिल्लाका प्रशासन प्रमुख तथा सुरक्षा प्रमुख लगाएत उच्च पदस्थ ब्यक्तित्वहरुको उपस्थितीमा आज शुक्रवार सञ्चारिका समुह बाँकेले अन्तरक्रियात्मक शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बाँके जिल्लाको शान्ति सुरक्षा अमन चयन र सदभावका बिषयमा चिन्ता र चासो ब्यक्त गरेका छन् ।
कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप प्रमुख तथा न्यायीक समिती संयोजक संगिता पौडेल सुवेदीले नेपाली संस्कार, संस्कृती र चाडपर्वहरुलाई जोगाई राख्नुपर्ने भन्दै चाडपर्वमा हुने दुर्घटना न्युनिकरणका निम्ति आम नागरिकहरु आफै सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेपाली पर्वहरुले भाईचाराको सम्वन्ध स्थापित गराउन ठुलो मद्धत गर्ने गरेको स्मरण गर्दै उप प्रमुख सुवेदीले स्थानिय सरकार पत्रकारहरुसंग समन्वय र सहकार्यमा काम गर्नेमा प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले महिला महिला पत्रकारहरुलाई समाजमा अगि बढ्न निकै चुनौती रहेको बताउनुभयो । महिला पत्रकारहरु विशेष गरेर विवाहपछि पेशाबाटै पलायन हुने अबस्थालाई चिर्न स्थानिय सरकारले प्याकेजमा कार्यक्रमहरु सञ्चालन गरेको पनि जानकारी दिनुभयो । उप प्रमुख सुवेदीले पत्रकार र स्थानिय निकायको सम्बन्ध मजवुद पार्न आफुले बिषेश भुमिका खेल्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले बाँके जिल्लामा पत्रकारहरुमाझ असुरक्षित महसुस भएको उल्लेख गर्दै जिल्लाका प्रमुख सुरक्षा निकायहरुले यस बिषयलाई गम्भिरतापुर्वक लिनुपर्नेमा जोड दिनुभयो । उहाँले बाँकेमा महिला पत्रकारहरु १५ प्रतिशत सहभागिता रहेको चर्चा गर्दै महिला पत्रकारहरुको संख्या बृद्धिका निम्ति महासंघले बिभिन्न आर्कषक कार्यक्रमहरु ल्याएको बताउनुभयो । स्थानिय जनप्रतिनिधि र पत्रकारहरुको सम्बन्धको दुरि बढिरहेको उल्लेख गर्दै उपाध्यक्ष शर्माले सम्बन्धलाई मजबुद पार्न जिम्मेवार स्थानिय सरकारका जनप्रतिनिधि र नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।
बडा दशैं, दिपावलि,छट तथा नयाँ सम्बतका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रेस चौतारि बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका सचिव भिष्म लोध, नेपाली काङ्ग्रेस बाँका सभापति नारायण गौडेल, नेकपा एमालेका लुम्विनी प्रदेश सदस्य गोपाल गिरी, ईलाका प्रहरी कार्यालय प्रमुख सुन्दर तिवारी, बाँके जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपिकृष्ण सुबेदी, जेशिस कोहलपुर अध्यक्ष ध्रुव आचार्य लगाएत अतिथीहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।






