काठमाण्डौ । सात वटै प्रदेशका प्रदेश मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरूलाई फिर्ता बोलाउन थालिएको छ । मन्त्रीहरूलाई बडिगार्ड तथा अगुवा(पछुवा गाडीमा दिँदै आएको सुरक्षाबाट सशस्त्र प्रहरी हटाउन थालिएको हो । नयाँ कार्यविधिले तोकिएभन्दा बढी सुरक्षाकर्मी लिइरहेका पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, व्यापारीबाट नेपाल र सशस्त्र प्रहरीले आफ्ना सुरक्षाकर्मी फिर्ता बोलाउन थालेको छ ।
नियमविपरीत खटाइएका त्यस्ता सुरक्षाकर्मी फिर्ता गर्न गृहले निर्देशन दिइसकेको छ । विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ ले पूर्वविशिष्ट व्यक्तिहरूको सुरक्षामा संख्या तोकेको छ । यो प्रावधानसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका झन्डै ६ सय जना सुरक्षाकर्मी फिर्ता हुनेछन्। सशस्त्र प्रहरीले भिआइपीको सुरक्षामा खटाएका करिब चार सय सुरक्षाकर्मी फिर्ता बोलाउन थालेको छ ।
नेपाल प्रहरीमा दुई सय बढी सुरक्षाकर्मी फिर्ताको प्रक्रियामा रहेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए। ‘अहिलेसम्म ८० जना सुरक्षाकर्मी फिर्ता भइसकेका छन्,’ उनले भने, ‘क्रमशस् फिर्ता हुनेछन्, कार्यविधिविपरीत हुने सबै सुरक्षाकर्मी फिर्ता हुन्छन् ।’ सशस्त्र प्रहरीमा हालसम्म एक सय सुरक्षाकर्मी फिर्ता भइसकेको प्रवक्ता डिआइजी राजु अर्यालले बताए। पूर्वगृहमन्त्रीलाई १० वर्षसम्म दुई सुरक्षाकर्मी दिने व्यवस्था कार्यविधिमा छ । १० वर्षभन्दा पुराना गृहमन्त्रीको घरबाट सुरक्षाकर्मी फिर्ता बोलाउन गृह मन्त्रालयले निर्देशन छ ।
पूर्वसुरक्षा अधिकारीहरूले पनि सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने कार्यविधि छ । पूर्वआइजिपीलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा छ । अवकाशप्राप्त प्रहरी अधिकारीले लिइरहेको सुरक्षाकर्मी तथा सहयोगीको सुविधा नयाँ कार्यविधिले हटाएको छ । पूर्वआइजिपीलाई दुई जना सुरक्षाकर्मी दिने कार्यविधिमा छ। पूर्वएआइजी र डिआइजीलाई दिइने सुरक्षा कटौती गर्ने कार्यविधि छ ।
नियमभन्दा बढी सुरक्षाकर्मी लिने सूचीको पहिलो नम्बरमा पर्छन्, पूर्वराजा ज्ञानेन्द्र शाह। उनले तोकिएभन्दा १ सय ११ जना बढी सुरक्षाकर्मी राखेका छन् ।पूर्वराजापछि धेरै सुरक्षाकर्मी र पछुवा गाडी लिएर हिँड्नेमा पुष्पकमल दाहाल र शेरबहादुर देउवा पर्छन् । नेकपा अध्यक्ष दाहालसँग अगुवापछुवासहित ४८ जना सुरक्षाकर्मी छन्। गृहले उनलाई सुरक्षा चुनौती भएकैले यो व्यवस्था गरेको बताएको छ ।
गृहको सूचीमा देउवालाई भने कुनै सुरक्षा चुनौती छैन। उनीसँग पछुवा गाडीसहित ४० जनै सुरक्षाकर्मी छन्। यी ४० मध्ये आठ जना देउवाकी श्रीमती आरजु र छोराको सुरक्षामा खटेका छन् । पछिल्लो सरकार विदा हुँदाहुँदै देउवाले श्रीमती र छोराका नाममा सुरक्षाकर्मी राख्ने निर्णय मन्त्रिपरिषदबाट गराएका थिए ।
पूर्वउपराष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग पछुवा गाडीसहित नियमभन्दा एक जना बढी सुरक्षाकर्मी छन् ।
पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दलगायत नेता पछुवासहित घरायसी काममा पनि सुरक्षाकर्मी राख्ने सूचीमा पर्छन् ।नेपालले १२, खनालले ४ र चन्दले ५ जना आवश्यकभन्दा बढी सुरक्षाकर्मी राखेका छन् । पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले ७ जना राखेका छन् भने पूर्वसभामुख ओनसरी घर्तीले पनि १३ जना बढी सुरक्षाकर्मी राखेकी छिन् ।
पूर्वगृहमन्त्रीमध्ये कमल थापाले ३, कृष्ण सिटौलाले १६, जनार्दन शर्माले २३, पूर्णबहादुर खड्काले पछुवासहित १४ जना सुरक्षाकर्मी घरमा राखेका छन् । पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले १५, पूर्वगृहमन्त्री भीम रावलले १३, रामचन्द्र पौडेलले १३, बामदेव गौतमले १३, विमलेन्द्र निधिले १३, विजयकुमार गच्छदारले ११ र शक्तिबहादुर बस्नेतले पछुवासहित १३ जना सुरक्षाकर्मी राखेका छन् ।
२०६२ ६३ को जनआन्दोलनपछि वर्तमान र भूपू भीआईपीहरूको नाममा राज्यको तर्फबाट उपलब्ध गराइँदै आएको सुरक्षा फौजलाई अब हुने चुनावी खपतका निम्ति भन्दै कार्यविधि नै संशोधन गरेर सरकारले व्यापक कटौती गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरुका हकमा नयाँ कार्यविधिबमोजिम कर्मचारी खटाई बाँकीलाई फागुन २ गते १२ बजेभित्र आ–आफ्नो मुख्यालयमा हाजिर हुन निर्देशनसमेत जारी गरिएको छ ।
यही मेसोमा अनेक काण्ड लागेका पूर्व अख्तियारप्रमुखद्वय लोकमानसिंह कार्की र दीप बस्न्यातको सुरक्षासमेत खोस्न लागिएको हो । यसअघि विशिष्ट व्यक्तिहरूको सुरक्षार्थ ६२९ जना सशस्त्र प्रहरी खटिएकोमा २६ जना फिर्ता भइसकेका छन् भने नयाँ नियमअनुसार ३२० जनालाई आज–भोलि नै फर्काइँदैछ । पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनमा बेस रहने गरी डिएसपीको कमाण्डमा ४० जनाको पल्टन र क्लोज प्रोटेक्सनका निम्ति डिएसपीकै कमाण्डमा थप ५० जनाको अर्को टोली दिइएको थियो, अब त्यो संख्या १५ मा झरेको छ ।
पूर्वराष्ट्रपतिसहित उनलाई अवकाश भएको ५ वर्षपछि पिएसओ (पदिक) सहित आजीवन १र४ को नफ्री दिने भनिएको छ । नयाँ व्यवस्थाअनुसार पूर्वउपराष्ट्रपति परमानन्द झाकोमा सुरक्षाकर्मी नभएकाले १० जना सशस्त्र र २ जना नेपाल प्रहरी खटाइन लागेको छ भने पूर्वप्रधानमन्त्रीहरूको हकमा व्यक्ति हेरेर मापदण्ड मिचिएको थियो ।
हिजो दिउँसो गृह मन्त्रालयबाट विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि बोकेर निस्किएको उच्चस्तरीय गुप्तचर स्रोतका अनुसार अब सोलोडोलो सबैले १÷१५ सशस्त्र र २ जना नेपाल प्रहरी पाउने छन् । यसै मेलोमा प्रचण्डको सुरक्षाबाट ३१ जना सशस्त्र फिर्ता हुनेछन् । नयाँ व्यवस्थाअनुसार राष्ट्रपतिको सुरक्षार्थ नेपाली सेनाबाट २७५, सशस्त्रबाट १२, नेपाल प्रहरीबाट १४ र गुप्तचर विभागका ५ जना गरी ३०६ जना खटिनेछन् ।
उपराष्ट्रपतिलाई क्रमशः ७५, ६ र ५÷५ र प्रधानमन्त्रीलाई २००, ३५, ६२ र ५ जनाका अलग–अलग टोली तैनाथ गरिँदैछ । मन्त्रीहरूले ११ जनाको सैनिक सुरक्षा पाउने गरेकोमा त्यसलाई ६ जना र प्रहरीतर्फ २ जना खटाएर सशस्त्र झिकिएको छ । प्रदेशतर्फका आन्तरिक मामिलामन्त्रीले ६ जना नेपाल प्रहरी मात्रै पाउने छन् । त्यहाँबाट सशस्त्रलाई पूरै झिकिएको छ । (सेतो पाटि र जनआस्थाको सहयोगमा)






