काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्ति बाल अस्पतालको लापरबाहीका कारण आकस्मिक कक्षमा भर्ना नपाई गत भदौ १८ गते ज्यान गुमाएकी बालिकाबारे जवाफ दिनु भएको छ । संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणमा जानुअघि शुक्रबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले बालिकाबारे जवाफ दिनु भएको हो ।
प्रधानमन्त्रीले उपचारका लागि भर्ना हुन गएकी मकवानपुर घर भई बाफल बस्ने ५ बर्षिया बालिका रेजिशा गोपालीको मृत्युको कारक रहेका दोषीलाई कारबाही गर्ने बताउनुभयो । सो घटनाबारे ५ दिन समय दिएर ३ सदस्यीय छानबिन समिति गठन गरेको र समितिले प्रतिवेदन बुझाइसकेको प्रचण्डले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो,‘प्रतिवेदनले अस्पतालमा आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति जुन तहको संवेदनशीलता प्रदर्शन हुनुर्थ्यो त्यो गर्न नसकेको तितो यथार्थले हामीलाई झक्झाउने उल्लेख गर्दै अस्पतालले विगतदेखि महशुस गरेका तर तत्काल सुधारमा बाटोहरुलाई कार्यान्वयन गर्न नसकेका व्यवस्थापकीय कमजोरी नै उक्त घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष पेश गरेको छ ।’
प्रतिवेदनले अस्पतालले आफ्नो तर्फबाट गर्नसक्ने सुधारको थालनी गरिसकेको र अझै गर्नुपर्ने सुधारको लागि तालुक निकायको अपेक्षा गरेको बताउनुभयो । प्रचण्डले सरकारले यस्ता घटनामा दोषी पाइए कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास समेत ब्यक्त गर्नु भएको छ ।






