काठमाण्डौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनौटप्रति प्राडा गोविन्द केसीले आपत्ति जनाउनु भएको छ । योग्य व्यक्तिलाई नभई राजनीतिक प्रभाव, दबाब र प्रलोभनमा परेर उपाध्यक्ष नियुक्त गरिएको भन्दै केसीले आपत्ति जनाउनु भएको हो ।
सोही विषयलाई लिएर उहाँले भदौं २९ गतेदेखि आमरण अनसन बस्ने घोषणा समेत गर्नु भएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै केसीले नवनियुक्त उपाध्यक्ष प्राडा. अञ्जनीकुमार झा राजनीतिक रूपमा नियुक्त गरिएको उहाँको आरोप छ ।
‘विगत चार वर्षमा चिकित्सा शिक्षा आयोगले चरम राजनीतिक दबाबका बीच, माफियाहरुको घेराबन्दी र प्रधानमन्त्रीको नाजायज हस्तक्षेपका बाबजुद आफ्नो स्वायत्तता र साख बचाउन सक्नुको मुख्य कारण नै यसका पदाधिकारीहरुको निःस्वार्थ भूमिका थियो ।
त्यही भूमिकाका कारण मेडिकल माफियाहरुको प्रभावमा परेर अहिलेको सरकारले आयोगका तत्कालीन उपाध्यक्षलाई पुनः नियुक्त नगरेर दण्डित गरेको छ’ उहाँले भन्नुभयो ।
संसदले नै बनाएको कानुन कार्यान्वयन गर्दा आयोगमाथि सांसदहरु नै खनिनु तथा आयोगको नियमनका कारण विद्यार्थी बाहिरिए भनेर दुष्प्रचार भइरहेको उहाँको आरोप छ ।






