काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र थाइ राजदूतबीच बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री र राजदूतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणासमेत राखेका थिए । उक्त भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच ६२ वर्षअघि स्थापना भएको कूटनीतिक सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्ने धारणा समेत राखेका थिए ।
राजदूत भोरासाफले थाइल्यान्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटक आगमन बढाउन सकिने विचार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञफ्तिमा उल्लेख छ ।






