बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधी अभाव देखिएको छ । पालिका भरिका अस्पताल स्वास्थ्य चौकीहरूमा दैनिक विरामी भरि भराउ भएपनि औषधीको अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख डाक्टर राम साहले बताउनुभयो । उहाँका अनुसार १० दिनमा २ सय ७३ जना विरामी आएको र औषधी नभएर फर्कन बाध्य भएका छन् ।
‘अस्पताल तथा स्वास्थ्य चौकीमा आँखामा हाल्ने आई ड्प छैन । जस्का कारण विरामी त्यसै घर फर्किन बाध्य छन् । दैनिक अस्पताल स्वास्थ्य चौकीमा ५० बढि विरामी आउँछन् तर पालिकाले माग गरेपछि ५० वटा मात्रै आँखामा हाल्ने औषधी उपलब्ध गराउने गरेको छ ।’ डा. साहले भन्नुभयो,‘पालिकाकै एक मात्र राप्ती सोनारी अस्पतालमा दैनिक संयौ आँखाका विरामी आउने गर्छन् । तर दुर्भाग्य आँखामा हाल्ने औषधी छैन ।’
सोही पालिकाको वडा न. ३ आधारभुत स्वास्थ्य चौकीका इन्चार्ज हिरामणी गुरौ थारूले गत १८ गते देखि ३० गते सम्म २ सय ९१ जना आँखा पाक्ने रोगका विरामी आएको बताउँदै औषधी अभावले सबैलाई आँखामा हाल्ने औषधी दिन नसकेको उल्लेख गर्नुभयो । विनौना स्वास्थ्य चौकीका इन्चार्ज संदिप चौधरीले पनि गत २१ गते देखि ३० गते सम्म १ सय ५८ जना विरामी आएको बताउनुभयो । उहाँले औषधी अभावका कारण विरामीलाई अर्कोदिन बोलाएर औषधी दिएर पठाउने बाध्यता रहेको दुखेसो पोख्नुभयो । पालिकालाई आग्रह गर्दा सकिएको जानकारी आएको उहाँले बताउनुभयो ।
यस विषयमा पालिकाले भने जिल्लामै औषधी अभाव रहेको प्रतिकृया दिएको छ । पालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र के.सीले जिल्ला मै औषधी अभावका कारण स्वास्थ्य चौकीमा पठाउन सकिएको छैन । उहाँले भन्नुभयो,‘हामीसँग औषधी भएर नदिएको होईन । विभिन्न स्वास्थ्य चौकीबाट औषधी अभावको खबर आएसँगै हामीले जिल्लामा औषधीको माग गर्दा जिल्ला नै औषधी अभाव भएको जनाकारी दिएको छ ।’
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले विरामीको संख्या अनुसार स्वास्थय चौकीहरुमा औषधी पुर्याउन नसकिएको बताउनुभयो । उहाँका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय र बजारमा औषधी अभाव भएको कारण पालिकामा रहेका विभिन्न स्वास्थ्य चौकीहरुमा औषधी अभाव देखिएको हो । विरामीको चाप अनुसार गाउँपालिकाले उपलब्ध गराउने औषधी पनि पालिकामा सकिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।






