बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले फोहर व्यवस्थापनमा मेडिकलहरुले लापर्वाही गरेको बतानुभएको छ । बुधबार बिहानै नगर प्रमुख विष्टले त्रिभुवन चोकबाट सदरलाइन हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो भएर भेरी अस्पतालको अनुगमन गर्नु हुँदै फोहर व्यवस्थापनमा मेडिकलहरुको लापर्वाही गरेको बतानुभएको हो ।
‘स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा मेडिकलहरुले लापर्वाही गरिरहेको पाएपछि हामीले निगरानी बढाएका छौं, स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र नै सञ्चालन गरेर दैनिकरुपमा फोहर संकलन भइरहँदा पनि लापर्बाही गर्ने छुट कसैलाई छैन ।’ उहाँले भन्नुभयो,‘स्वच्छ, सफा र हरित नगर बनाउने अभियानका लागि हामी गम्भीर ढंगले लागेका छौं, सरोकारवालासँगसँगै हरेक नागरिकले आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ ।’
सरसफाई फाँट हेरिरहेका कर्मचारी र सरसफाईकर्मीलाई खटनपटन गराउने टिम लिडरहरुलाई स्पष्ट निर्देशन दिँदै उहाँले काममा कुनै किसिमले सम्झौता नहुने बताउनुभयो । उहाँले भन्नुभयो,‘शतप्रतिशत काम चाहिन्छ, टालटुले हिसाबले हुँदैन, राम्रोसंग काम नगर्नेहरुलाई तुरुन्त फायर गर्नुस्, काममा कुनै कम्प्रमाइज हुँदैन, नगर सफा देखिनुपर्दछ ।’ नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाईका लागि थुप्रो धनराशी खर्च गरिरहेको बताउँदै उहाँले शहर सफा देखिने गरी काम गर्न निर्देशन समेत दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले स्वयं नागरिकमा इमान्दारिता, जागरुकता र जिम्मेवारीपन भए सफा र स्वच्छ नगर बनाउने उपमहानगरपालिकाको अभियान छिट्टै सार्थक हुने बताउनुभयो । नगरको सुन्दरता र स्वास्थ्यसंग जोडिएको संवेदनशील विषय भएकाले सबैको साझा प्रयासबाट स्वच्छ र सफा सहर निर्माणमा टेवा पुग्ने रिजालको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत रिजालसँगै नगर प्रमुख विष्टले सरसफाईको अवस्थाबारे अनुगमन गर्नुभएको थियो ।






