बाँके । पशुचौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन शुरु गरीएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले ६२ सय डोज खोप बाँकेमा आएको र त्यसबाट २५ सय खोप ३ वटा पालिकामा बितरण गरीएको बताउनुभयो । पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फर्ममै पुगेर लम्फी स्किन रोग बिरुद्धको खोप दिन शुरु गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।
‘पहिलो चरणमा पशु फर्म खोलेर व्यावसायिक पशुपालन गरेका कृषकको फर्ममै पुगेर खोप दिन शुरु गरेका छौं ।’ उहाँले भन्नुभयो,‘पहिलो चरणको वितरण सकिएपछि कृषकका घरघरमा पुगेर दोश्रो चरणको खोप दिन शुरु गर्छौं ।’ बाँकेको आठ वटा पालिका मध्ये कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, र जानकी गाउँपालिकामा हालसम्म ७ सयका दरले भ्याक्सीन बितरण गरी सकिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । बिहिबार देखी भयाक्सीन दिन प्राबिधीक खटाइएको उहाँले बताउनुभयो ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको बताउनुभयो । घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिदै डा. ओलीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको जानकारी दिनुभयो । साथै उहाँले तालिम प्राप्त ५० जना भ्याक्सीनीयटरले पालिकामा पुगेर शुक्रबार देखि खोप लगाउन शुरु गरेका बताउनुभयो ।
नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा. शङ्कर न्यौपानेले सक्रमणबाट पशुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको बताउनुभयो । ‘किसानलाई खेती गर्न पशु र पशुको मल आवश्यकता पर्ने हुँदा पशु नै मर्न थालेपछि यस्को मार किसानलाई नै परेको छ ।’ सक्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको स्क्रमण न्यूनीकरण हुन सक्ने डा.न्यौपानेले सुझाव दिनुभयो । उहाँका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेपछि अन्यलाई पनि यो रोगको सङ्क्रमण फैलन्छ ।
नेपालगन्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त भाइरसको सङक्रमण देखिएको छ । उक्त रोगबाट सबैभन्दा बढी बाँकेको खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैसी र ६० हजारको हाराहारीमा गाई छन् । ती मध्य सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङक्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सक्रमण जिल्लाभर फैलिएपछि मात्र किसानले भ्याक्सिनेसनको सुविधा पाएका हुन् ।






