बाँके । नेपालगञ्ज मेडिकल कलेज बाँके र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने विषयमा सम्झौता भएको छ । बुधबार नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले सिफारिस गरेका बहालवाला र पूर्व प्रहरीको उपचारमा १० देखि २५ प्रतिशतसम्म छुट दिने विषयमा सम्झौता भएको हो ।
मेडिकल कलेज नेपालगञ्ज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट सिफारिस भएका प्रहरी, पूर्व प्रहरी र प्रहरीका परिवारलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने गरी दुबै संस्थाबीच सम्झौता भएको बताउनुभयो । ‘प्रहरी अस्पतालबाट नेपाल प्रहरी, पूर्व प्रहरी र प्रहरीका परिवारलाई उपचारका लागि छुट दिने विषयमा भएको सिफारिसलाई मध्यनजर गर्दै १० देखि २५ प्रतिशतसम्म छुट दिने निर्णय गरेका हौं ।’ उहाँले भन्नुभयो,‘देश र जनताका सुरक्षामा रातदिन खटिने नेपाल प्रहरीलाई मेडिकल कलेजले यतिसम्मको छुट दिन पाउनु पनि एक प्रकारको कलेजले पाएको अवसर पनि हो । त्यसैले उहाँहरुद्धारा गरिएको सिफारिसलाई हामील सकारात्मक रुपमा लियौं र सम्झौंता गर्यौं ।’
उक्त सम्झौतामा अस्पतालको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले हस्ताक्षर गरेर पत्र आदानप्रदान गर्नुभयो । प्रहरी अस्पतालले सिफारिस गरी पठाएका बिरामीको उपचारमा विभिन्न प्रकारका सेवा सुविधा लिँदा १० देखि २५ प्रतिशत छुट पाउने एक वर्षे सम्झौता गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ ।
सम्झौता अनुसार बहालवाला प्रहरी कर्मचारीलाई साधारण प्याथोलोजी, रेडियोलोजी जाँचहरु र साधारण बेड चार्जमा लाग्ने दस्तुरमा २५ प्रतिशत छुट प्रदान गरिने, आईसियु, एसी बेड चार्ज, अप्रेशन, एमआरआई सिटि स्क्यान र ल्याबको स्पेशल टेस्टहरुको दस्तुरमा १५ प्रतिशत छुट दिइनेछ । लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. श्रेष्ठले सोही प्रकारले प्रहरी परिवारका सदस्य बिरामी भएर प्रहरी अस्पतालबाट सिफारिस भएर आएमा उपचारमा १० प्रतिशत छुट दिने सम्झौता भएको बताउनुभयो ।
अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. श्रेष्ठले आज गरिएको सम्झौताबाट नेपाल प्रहरी, पूर्व प्रहरी र प्रहरी परिवारको स्वास्थ्य उपचारमा धेरै नै सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपाल प्रहरीसंग कोहलपुर र नेपालगञ्जका मेडिकल कलेजले आज गरेको यो सम्झौताले हामी नेपाल प्रहरी, पूर्व प्रहरी र प्रहरी परिवारको स्वास्थ्य उपचारमा धेरै नै सहयोग पुग्ने छ ।’ उक्त सम्झौताका लागि उहाँले धन्यबाद समेत दिनुभएको थियो । सो सम्झौता साउन १ गतेदेखि लागू हुने र हालका लागि एक वर्षसम्मका लागि मात्रै गरिएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ । यस्तो छ सम्झौतापत्र






