काठमाण्डौ । प्रधानमन्त्रीेले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी ऐन विपरीत भएको वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बताएका छन् । उनले प्रधानमन्त्रीले राख्न लागेको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत रहेको बताएका छन् ।
नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उनले यसअघि प्राचीन स्मारक संरक्षण ऐन बन्नुअघि नै राजा रणबहादुर शाहका पालामा शिवलिङ्गमुनि चाँदीको जलहरी राखिएको बताए । पशुपतिनाथमा रहेका चाँदीको खराउसमेत सुनको बनाइएको पनि उनले बताएका छन् ।
“ऐन उल्लङ्घन गरी सुनको जलहरी राखेमा रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ, प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १२ को खण्ड (ग) मा यस्तो व्यवस्था गरिएको छ”, पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य वैद्यले भने ।
सम्पदा मास्न सुनको जलहरी राख्ने हठ कायमै राखे आफू अनशन बस्नेसमेत उनको भनाइ थियो ।
सम्पदा संरक्षण अभियानमा लागेका कानून व्यवसायी सञ्जय अधिकारीले प्राचीन स्मारक संरक्षण ऐनको दफा २ मा सम्पदालाई मौलिकरूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था भएकाले सुनको जलहरी राख्न नसकिने बताए । सुनको जलहरी राख्ने काम प्रधानमन्त्रीबाट नरोकिए प्रधानमन्त्रीको विरुद्धमा रिट निवेदन लिएर सर्वोच्च अदालत जाने उनले चेतावनी दिएका छन् ।
पशुपतिका पालोवाला भण्डारी केदारमान भण्डारीले गुह्येश्वरीको गर्भगृहमा राखिएको सुन दश दश वर्षमा खिइएर जाने गरेकाले पशुपतिनाथमा समेत त्यस्तै हुनसक्ने भएकाले भण्डारीले जिम्मा लिन नसक्ने बताए । पशुपतिको प्राङ्गण बिस्तार गर्ने नाममा समेत सम्पदालाई नाश गर्ने काम भइरहेको उनले बताए । पशुपतिलाई विभिन्न भक्तजनले चढाएका गरगहनालगायत सुन, चाँदी र तामाका चीजबिजसमेत मर्मत नभई थन्किएकाले सम्पदा संरक्षणका लागि उपयुक्त कदम चाल्ने उनले बताए ।






