काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले अब बुढा नेताहरुलाई विस्थापित गरेर नेतृत्वमा युवाहरु नै आउनेगरि तयारी थालेको बताएका छन् । नेता थापाले अब पार्टीको नेतृत्वमा युवा नेताहरु नै स्थापित हुनेगरि एक ढिक्का भएर अघि बढ्ने बताएका हुन् ।
यसको पुर्व तयारीकोलागी काभ्रेको धुलिखेलमा भएको गोप्य छलफल समेत बसेको कांग्रेसनिकट उच्च स्रोतले जानकारी दिएको छ । धुलिखेलको भेलामा युवा नेताहरु डा. चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे र प्रदीप पौडेल लगायतको उपस्थिति रहेको पनि श्रोतले बताएको छ ।
युवा नेताहरुले आगामी १४औं महाधिवेशनमा युवा पुस्ता एक भएर जाने र बुढा पुस्तासँग प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन् । पछिल्लो समय कांग्रेसमा युवा नेताहरु नेतृत्वमा आउनेगरि बहस चलेको छ । बुढा नेताहरुलाई अभिभावकीय जिम्मेवारीमा राखेर आफूहरु पार्टीमा नेतृत्वदायी भूमिका जानेबारे युवा नेताहरुले छलफल तथा अन्तरक्रिया गरिरहेका छन् ।
युवा नेताहरुले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्तालाई विदा लिन आग्रह गर्दै आएका छन् । पार्टीको १४औं महाधिवेशनमा सभापति देउवा नै उठ्ने चर्चा छ । यता, पौडेल समूहबाट भने को लड्ने ? भन्नेबारे अहिलेसम्म कुनै टुँगो लागेको छैन् ।






