काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सकिएको छ । उनीहरुको काठमाण्डौ जिल्ला अदालतमा बयान सकिएको हो । टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बिहीबार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिएका हुन् ।
टोपबहादुर पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव हुन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारमध्ये एक रहेको भन्दै मुद्दा प्रक्रिया अघि बढाइएको हो । यस्तै शेर्पा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । मियाँ भने हज समितिको अध्यक्ष हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले बयान दिन बाँकी छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनले बयान दिन बाँकी छ । उनीहरुको बयान शुक्रबार लिइने भएको छ ।






