रुपनी जि एम, बाँके । बाँके राष्ट्रिय निकुञ्जमा तराई भू परिधि कार्यक्रम (ताल) ले निकुञ्ज क्षेत्र विकासका लागि आफ्ना आर्थिक योजनाका कार्यक्रम सञ्चालन गरेको छ । तालका सह–निर्देशक कमलराज राईले निकुञ्जमा रहेका वन्यजन्तुका लागि पानी पोखरीको व्यवस्थापन र बाँकेको कम्दी जैविक मार्गमा रहेको वन तथा वातावरण संरक्षण समन्वय समिति र सामुदायिक वन समन्वय समितिका लागि ६१ लख बराबरका आर्थिक सहयोगका कार्यक्रमहरु गरिएको बताए ।
तालको आर्थिक सहयोगमा निकुञ्ज भित्र ८ वटा पोखरीमा पानीको व्यवस्था गरिएको हो । तालका सह–निर्देशक राईले निकुञ्जका वन्यजन्तुका लागि पिउने पानीका लागि आवश्यकता अनुसार गत वर्ष तीन र यस वर्ष दुईवटा पोखरीमा पानीको काम भइरहेको बताए । ‘हेर्दाखेरी थोरै पैसाका साना–साना काम भएजस्तो देखिन्छ, तर यी संरचना वन्यजन्तुका लागि महत्वपूर्ण साबित भएका छन् । पानी नपाएर काकाकुल भएका वन्यजन्तुले पिउने पानी पाउँदा संरक्षणमा टेवा पुगेको छ ।’ उनले भने,‘अत्यधिक गर्मी बढेसँगै पोखरीको पानी सुक्न थालेपछि हामीले वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरेका हौं ।’
तालले बाँकेको कम्दी जैविक मार्गमा रहेको वन तथा वातावरण संरक्षण समन्वय समिति र सामुदायिक वन समन्वय समितिका लागि चार लाख बजेटमा संरक्षण कार्यक्रमका संरक्षण कोष स्थापना तथा परिचालन गरेको जनाएको छ । त्यसैगरी सिपमुलक कार्यक्रमका लागि १ लाख ३० हाजार खर्च गरेको छ भने कार्यालय व्यवस्थापनका लागि १० हजार, चोरि शिकार नियन्त्रण यूवा अभियानका लागि २ लाख, वन पुर्नस्थापना कार्यक्रमका लागि ५ लाख, निजि वन प्रवर्धन कार्याक्रमका लागि २ लाख, त्यसैगरी आय आर्जन कार्यक्रमका लागि ५ लाख, पानीको श्रोत संरक्षण कार्यक्रमका लागि ४ लाख गरी कूल २३ लाख ३० हजारको आर्थिक सहयोग गरेको जनाएको छ ।
तालका सह–निर्देशक कमलराज राईका अनुसार श्री वन तथा वातावरण संरक्षण समन्वय समिति, राप्ती सोनारी गाउँपालिका ८, ओभरी बाँकेमा पनि तालको आर्थिक सहयोगमा सिपमुलक तालिम कार्याक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमका लागि ३ लाख खर्च भएको राईले बताए । त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा रहेको जलसेनी पोखरी स्थापनाका लागि २३ लाख ७५ हजार ३ सय रुपैयाको आर्थिक सहयोग गरिएको छ भने, खैरी तथा गोठेरी पोखरीका लागि पाँच लाख, त्यसैगरी निकुञ्ज भित्र रहेका विभिन्न पोष्टहरुको मर्मतका लागि ३ लाख खर्च गरिएको छ भने निकुञ्ज भित्र सिसिटिभी स्थापनाका लागि ३ लाख खर्च गरिएको राईले बताए ।
पोखरीको पानी सुक्न नदिन डिप बोरिङ र हेन्डपम्पको व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो । उहाँले प्राकृतिक र मानव निर्मित पोखरीको संरक्षण गरी वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको बताए,‘सुक्खायाम र अत्यधिक खडेरीमा यहाँका प्राकृतिक ताल सुक्न थालेपछि डिप बोरिङ र हेन्डपम्पमार्फत पानीको व्यवस्था गरेका छौँ,’ उनले भने । निकुञ्जभित्र विद्युतको व्यवस्था नभएकाले सोलार सिस्टमको सहयोगमा हेन्डपम्पको पानी पोखरीमा ल्याउने व्यवस्था मिलाइएको उनको भनाई छ ।
‘प्राकृतिक ताल र पोखरीलाई व्यवस्थित गरी ड्याम बनाएर बग्ने पानीलाई संग्रह गरिएको छ ।’ प्रमुख संरक्षण अधिकृत साहले भने,‘पानीको अभाव हुन नदिन विभिन्न उपाय अवलम्बन गरिएको छ । पानी सुक्ने पोखरीमा बाहिरबाट चिम्ट्याइलो माटो ल्याएर पानी सुक्नबाट जोगाउने प्रयास भएको छ ।’ अधिकृत साहका अनुसार कतैकतै सिमेन्टको पोखरीसमेत बनाएर वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरिएको छ ।






